Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 Sept 2012

कालेबुङ आर्ट ग्यालरीको विधिवत उद्घाटन

12(कालेबुङ)- कालेबुङका चित्रकारहरुको प्रयासमा आज कालेबुङ आर्ट ग्यालरीको विधिवत उद्घाटन गरिएको छ। कालेबुङको अप्पर कार्ड रोडमा अवस्थित बरसाना रिसोर्ट परिसरमा स्थापना गरिएको उक्त आर्ट ग्यालरीको आज एउटा विशेष कार्यक्रमको आयोजना गरी उदघाटन गरियो। कार्यक्रमका मुख्य अतिथि सिक्किमका पूर्वमंत्री थुकचुक लाचुङपाको बाहुलीबाट आर्ट ग्यालरीको विधिवत उदघाटन गरियो। यस अवसरमा नाट्यकर्मी सीके श्रेष्ठ, वरिष्ठ अधिवक्ता अनमोल प्रसादसहित कला क्षेत्रसँग सम्बन्धित मानिसहरुको उपस्थिति थियो। कालेबुङका चित्रकारहरुको समूह कालिम्पोङ आर्टिस्ट एशोशिएशनको पहलमा प्रथमपल्ट कालेबुङमा यसरी आर्ट ग्यालरी शुरु गरेको हो। दार्जीलिङ पहाडमा नै दार्जीलिङको आभा आर्ट ग्यालरी पछि कालेबुङको यो दोस्रो आर्ट ग्यालरी हो। कालेबुङका होटल ब्यवसायी सञ्जय प्रधानले चित्रकलाको प्रवर्द्धनको निम्ति आफ्नो रिसोर्ट परिसरमा निशुल्क हल उपलब्ध गरिदिएपछि ग्यालरी शुरु गर्न चित्रकारहरुको मनोबल बढेको हो।कालेबुङ घुम्न आउने पर्यटक र चित्रकलाप्रेमीहरुको निम्ति यो ग्यालरी पूरा सप्ताह नै खुला रहनेछ। हाल चित्रकारहरुको यस संगठनमा कालेबुङका 34जना नयाँ अनि पुराना चित्रकारहरु सामेल छ्न। ती मध्ये केही उम्दा अनि केही नयाँ पिढीका चित्रकारहरुको कृतिलाई ग्यालरीमा स्थान दिइएको छ। हाल यस ग्यालरीमा ओएल कलर, वाटर कलर, पेंसिल, पेस्ट्रल आदिको प्रयोगद्वारा बनाइएका पोटट्रेट, ल्याण्डस्केप, स्टेललाइफ जस्ता चित्रकलाका बिभिन्न बिधाका कृतिहरु प्रदर्शनीको निम्ति राखिएको छ। कलापारखीहरुको निम्ति यी चित्रकलाहरु बिक्री पनि गरिने प्रावधान छ। कालेबुङमा नियमित भ्रमणको निम्ति यसरी आर्ट ग्यालरी शुरु हुँदा यसले क्षेत्रका चित्रकारहरुलाई प्रोत्साहन गर्नकासाथै यहाँको पर्यटनको क्षेत्रमा पनि नयाँ आकर्षण थपिन पुगेको आयोजकहरुको भनाई छ। संगठनले क्षेत्रमा चित्रकलाको सम्वर्द्धनको निम्ति चित्रकलामा रुचि राख्ने नानीहरुको निम्ति कार्यशालाको आयोजना गर्ने योजना बनाएको छ। यता, कार्यक्रमका मुख्य अतिथि टी लाचुङपाले कालेबुङमा आर्ट ग्यालरी स्थापना हुँदा खुशी लागेको बताउँदै आफ्नो तर्फबाट पनि हरसम्भव सहयोग रहने बताएका छन।

0 comments: