Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Sept 2012

चिल्ड्रेन क्लबको गठन गरी समाजका अधिकारबञ्चित नानीहरुको हक-हित र सुरक्षाको निम्ति पहल गर्ने

24 सेप्टेम्बर (कालेबुङ) :-  चिल्ड्रेन क्लबको गठन गरी समाजका अधिकारबञ्चित नानीहरुको हक-हित र सुरक्षाको निम्ति पहल गर्ने कालेबुङको बाल सुरक्षा अभियानका नानीहरुको प्रतिबद्धता प्रशंसनीय मात्र होइन तर वयस्कहरुको निम्ति समेत अनुकरणीय बनेको छ।
यी स साना नानीहरु घण्टौंदेखि लाम लागेर बसेको यो दृश्य कुनै सिनेमा हल, चिडियाखाना वा पार्कको टिकट काट्न बसेको दृश्य होइन। यी नानीहरु त आफ्नो मत अधिकारको प्रयोग गर्न बिहानैदेखि आफ्नो पालो पर्खेर बसेका हुन। यति साना नानीहरुको मताधिकारको कुरा धेरैलाई पत्यार नलाग्ला तर यी नानीहरु कालेबुङको गैर सरकारी संगठन बाल सुरक्षा अभियानले सुरक्षा र आश्रय दिएका नानीहरु हुन। सानै उमेरमा समाजको क्रुरता र परिस्थितिको हण्टर खाई सकेका यी नानीहरु आफूहरुजस्ता अधिकारवञ्चित नानीहरुको हकहित र सुरक्षाको निम्ति पहल र वकालत गर्ने बालनेताको निर्वाचन गर्न यसरी घण्टौंदेखि आफ्नो पालोको प्रतीक्षा गरेर बसेका हुन। बाल सुरक्षा अभियानको अधीनमा गठन गरिने यस्ता चिल्ड्रेन क्लबका निर्वाचित पदाधिकारीहरुले बाल अधिकारको क्षेत्रमा मात्र काम गर्दैनन तर पर्यावरण संरक्षण, सामाजिक बिकास र पूर्वाधार निर्माणलाई समेत आफ्नो कार्य क्षेत्र बनाएका छन। बीएसएको अधिनमा कालेबुङ शहरबाहिर दुइवटा चिल्ड्रेन क्लबहरुले पूर्ण जिम्मेवारीका साथ आफ्नो भुमिका निर्वाह गरिरहेका छन भने शहरसंलग्न क्षेत्रमा पनि चिल्ड्रेन क्लबले फोकस गर्न शुरु गरेको छ। यसको निम्ति एउटा प्रशासनिक संस्थान गठन गर्न आज चुनाउ गरिएको हो। वयस्कहरुको निर्वाचन पद्धतिलाई पालन गर्दै आज बीएसएका एक सय पन्द्र जना नानीहरुले चोल्ड्रेन क्लबका पदाधिकारीहरुको निर्वाचन गरेका छन। एक जिम्मेवार नागरिक निर्माण गर्न सानेदेखि नानीहरुलाई यस्ता गम्भीर बिषयहरुबारे शिक्षित र जागरुक गर्ने उद्देश्य लिएर बीएसएले चिल्ड्रेन क्लबको परिकल्पना तयार पारेको हो। चिल्ड्रेन क्लबमार्फत नानीहरुले प्रशासनका उच्च अधिकारीहरुसम्म आफ्ना समस्या मात्र उजागर गर्दैनन तर आफ्नो क्षेत्रका आमजनताको समस्याको निदानको निम्ति समेत आवाज बुलन्द गर्ने गरेका छन।
कालेबुङबाहिर पेदोङ अनि कागे ग्रामपञ्चायतको मारिया बस्तीमा गठित चिल्ड्रेन क्लबको कार्यकलाप र परिणामले ठूलाहरुलाई पनि दंग पारेको छ। यस क्षेत्रमा क्लबका नानीहरुले स्थानीय प्रशासनमाथि लगातार दवाउ सृजना गरेर केही भुइचाँलोपिडीत परिवारहरुलाई चाढो क्षतिपूर्ति दिलाउन सफल भएको छ भने क्षेत्रमा नयाँ आईसीडीएस केन्द्र ल्याउन पनि नानीहरुले उल्लेखनीय भुमिका निर्वाह गरेका छन।चिल्ड्रेन क्लबको गठनले नानीहरुको अवैध ओसार पसार र तस्करी अनि बालश्रम रोकथाम गर्न पनि सहयोग मिल्ने बीएसएको धारणा छ। आफ्नो क्षेत्रमा नानीहरुको गतिविधिमाथि निगरानी राख्ने, संदिग्ध मानिसहरुबारे संगठनलाई सूचित गर्ने नानीहरुको गतिविधिले पनि बाल तस्करी र बालश्रम नियञ्त्रण गर्न मदत पुगेको बीएसएका कार्यकर्ता तेजकुमार थापाको भनाई छ। यसबाहेक नानीहरुलाई सानै उमेरदेखि आफ्ना हक अधिकारबारे जागरुक अनि संगठित बनेर काम गर्न प्रोत्साहन दिने परिकल्पना लिएर चिल्ड्रेन क्लबको गठन गरिएको उनले बताएका छन।

0 comments: