Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Apr 2013

कालेबुङको डम्बर चोकमा अवस्थित डम्बरसिंग गुरुङको सालिग स्थलको दूरावस्था

कालेबुङ 19 अप्रेल। “सधैँ गौरव राख्नेछौं गोर्खाको” यही नारा लिएर अघि आएका गोर्खालीगका संस्थापक डम्बरसिंग गुरुङले गोर्खा जातिको कति गौरव राखे भन्ने कुरा छुट्टै वहसको विषय हो तर कालेबुङको डम्बर चोकमा अवस्थित तिनको सालिग स्थलको दूरावस्था देख्दा यो जातिले तिनको गौरव राखेको छ कि भन्ने स्वभाविक प्रश्न खडा हुन्छ। कालेबुङ शहरको मुटु मानिने डम्बरचोकमा गोर्खाहरुका यी राजनैतिक प्रणेताको सालिग राखिएको स्थल उपेक्षित मात्र छैन तर दूर्व्यवसनी र दूर्गन्धीहरुको आश्रयस्थल बनेको छ। दूर्गन्धीहरुले यहाँ आश्रय लिएर यसलाई दूर्गन्धित र प्रदुषित मात्र पारेका छैनन तर मानसिक रुपले विक्षिप्त केही मानिसहरुले डम्बर बाबूको सालिगसँग छेडछाड गर्ने गरेको घटना सामान्य भएको छ। यिनीहरुले कहिले तिनको सालिगमा मैलाझुम्रा लुगाहरु ओडाइ दिने काम गर्ने गर्छन भने कहिले सालिगलाई नै नोक्सान पुर्याोउने प्रयास गरेको पनि देखिन्छ। यीबाहेक डम्बर चोकको यो सालिग स्थल अहिले शहरका दूर्व्यवसनीहरुको मुख्य अड्डा बनेको छ। डम्बरसिंगको सालिग स्थललाई दूर्व्यवसनीहरुले अहिले नशालु पदार्थको किनबेचको केन्द्र बनाएका छन। यति मात्र होइन, सालिग स्थल परिसरमा साँझपख राखिने ठेलागाडीहरु पनि चोकको संरचनालाई दूर्गन्धित पार्न जिम्मेवार छन। ठेलावालबाट फाष्टफूड किनेर खाने मानिसहरुले खाएको पेपर प्लेटहरु पनि चोकको घरभित्र फ्याक्ने गरेकोले पनि सालिग स्थलमा दूर्गन्ध बढेर गएको छ। कालेबुङ शहरको मुख्य भागमा रहेकोले मात्र यो महत्वपूर्ण भएको होइन तर एक शताब्दीभन्दा लामो इतिहास बोकेर बाँचेको यो संरचना आफैमा एउटा धरोहर हो। सन 1902 मा कालेबुङको मुख्य भाग(आजको डम्बरचोक)-मा यो संरचनाको निर्माणसँगै महारानी भिक्टोरियाको अर्धकार्य सालिग पनि स्थापित गरिएको थियो। महारानीको मूर्ति स्थापना गर्ने कार्यमा त्योबेलाका प्रतिष्ठित मानिसहरु सत्तलसिंह मण्डल,रामचन्द्र मिञ्त्रीलगायत भूटानका तत्कालिन राजदम्पत्ती जिग्मी दोर्जी अनि चुन्नु दोर्जीसमेतको पनि विशेष भूमिका रहेको थाहा लागेको छ। नेपालका काष्ठकलाकारहरु मगाएर खूबै कलात्मक ढाँचामा निर्माण गरिएको यो काठको संरचनाभित्र महारानीको मूर्ति राखिएपछि यसलाई महारानी चोक भनिन थालियो। ब्रिटिश शासकहरुले भारत छोडेर गएपछि पनि महारानीको सालिग सुरक्षित राखिएको थियो। 70 को दशकसम्म तत्कालिन महारानी चोकमा तिनको मूर्ति रहेको बूढापाकाहरुको भनाइ छ। सत्तरको मध्य दशकमा कालेबुङका केही राष्ट्रप्रेमी युवकहरुले दासत्वको प्रतीक मानेर महारानी भिक्टोरियाको सो मूर्ति त्यहाँबाट हटाएर कालेबुङ थानालाई सुम्पिदिएको बूढापाकाहरुको सम्झना छ। महारानीको मूर्ति हटाएर सालिगस्तम्भ खाली भएपछि अस्सीको दशकको शुरुआती बर्षमा अभागोलीले त्यहाँ दलका संस्थापक डम्बरसिंह गुरुङको सालिग स्थापित गरेको थियो। यसबीच अस्सीको मध्य दशकमा गोर्खाल्याण्डको आन्दोलन चरममा पुगेको अवस्थामा केही अज्ञात मानिसहरुले डम्बरसिंग गुरुङको मूर्ति तोडी दिएका थिए। लामो समयसम्म सालिगविहीन रहेको स्तम्भमा गोर्खालीगले डम्बर बाबूको मूर्तिको पुनर्स्थापना गर्ने जमर्को गरेको थियो। यस दलले केही बर्ष अघि चोकको संरचनाको रंगपचेरा गरेर हेर्न लायकको बनाएको थियो। यसैबीच, नगरपालिकामा मोर्चासमर्थित बोर्ड गठन भएपछि नगरप्रशासन र मोर्चाको तत्परतामा डम्बरसिंह गुरुङको सालिगको पुनर्स्थापना गर्ने कार्य सफल भएको थियो। भारतका गोर्खाहरुमा राजनैतिक चेतनाको बिजारोपण गर्ने प्रणेता डम्बरसिंग गुरुङको मूर्तिको पुनर्स्थापना गरेर मोर्चाले तिनको योगदानको कदर त गरेको छ तर यस ऐतिहासिक स्थलको रखरखाउ र संरक्षणको दिशामा महकुमा अनि नगर प्रशासन दुवैको उदासिनता देखिएको छ। पर्यटन व्यावसायमा निर्भर रहेको कालेबुङका यस्ता ऐतिहासिक महत्वका स्थल र विभूतिहरुको सालिगको देखरेख र संरक्षणको निम्ति सम्बन्धित प्रशासन र नागरिक समाज दुवै जागरुक हुनु आवश्यक छ। कालेबुङको जागरुक नागरिक शमसेर अलीले पनि यसको उचित रखरखाउ र संरक्षण गरिनु पर्ने कुरामा जोर दिएका छन। यो स्थलमा डम्बरसिंगको मूर्ति राखेर तिनैको नाममा चोकको नामाकरण गरिएको कुरा उपयुक्त र सान्दर्भिक रहेको तिनको धारणा छ। “शहरको मूल भागमा यो संरचना र डम्बर सिंगको सालिग हुनु सबै दृष्टिकोणले महत्वपूर्ण छ। गोर्खा समुदायको निम्ति डम्बरसिंगको स्थान विशिष्ट छ अनि यो ऐतिहासिक धरोहरको पनि छुट्टै स्थान र महत्व छ। यो स्थलको नियमित सरसफाइ र संरक्षण हुनु जरुरी छ। यसका साथै सम्बन्धित निकायले यसलाई धरोहरको मान्यता दिलाउने दिशामा पनि पहल गर्नु पर्ने देखिन्छ” अलीले भने। यता, कालेबुङ नगरपालिका अध्यक्ष एलबी परियार पनि यसको संरक्षण हुनु पर्ने कुरासँग सरोकार त राख्छन तर नगरपालिकाबाट मात्र यो सम्भव नरहेको धारणा पनि व्यक्त गर्छन। यस ऐतिहासिक स्थलको संरक्षणको निम्ति नागरिक समाज पनि अघि आउनु पर्ने तिनको विचार छ। शालिक स्थलको संरचनाको रखरखाउ र संरक्षणको निम्ति पुलिसले समेत नियमित निगरानी काम गर्नु पर्ने तिनको भनाइ छ। “हामी समय समयमा यसको साफसफाइ र रंगपचेरा गर्न तयार छौं। तर यसको व्यवस्थापन र संरक्षणको निम्ति नगरप्रशासनलाई मात्र जिम्मेवार मान्नु ठीक होइन। नागरिक समाजका सचेत र जागरुक मानिसहरु पनि अघि आउनु पर्छ” नगरप्रशासनका प्रमुख परियारले भने।

0 comments: