Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

21 Dec 2013

चरित्र समालोचना अङ्कको लोकार्पण, सर्जकहरू अति प्रशंसादेखि जोगिनुपर्छ – डा. कविता लामा

कालेबुङ – समालोचना लेख्न लरतरो कुरो होइन यसका लागि अध्ययनको आवश्यकता पर्दछ। तर आजभोलि प्रशंसा गरेर लेख्ने काम नै समालोचनाको नाममा धेर भइरहेको छ जो स्वस्थ समाजको लागि हानिकारक हो अनि लेखक वा सर्जकहरू पनि समालोचकहरूले गरेको प्रशंसामा मक्खै पर्ने गरेको पाइन्छ। सर्जकहरूले नकारात्मक समालोचनालाई स्वागत जनाउनुपर्छ तब मात्र आफ्नो उत्तरवर्ती लेखन अझ मौलाएर जानेछ। सर्जकहरू अतिप्रशंसादेखि जोग्गिनुपर्छ।
कालेबुङको हिमालयन होटलमा सम्पन्न चरित्र पत्रिकाको समालोचना अङ्कको लोकार्पण समारोहलाई सम्बोधन गर्दै डा. कविता लामाले उक्त मन्तव्य पोखेकी हुन्। वर्तमान नेपाली समालोचनामाथि आफ्नो पावर पोइन्ट प्रस्तुति दिँदै डा. लामाले कालेबुङलगायत दार्जीलिङ, सिक्किम, डुअर्स, सिलगड़ी आदि भेकबाट भेला भएका साहित्यानुरागीहरूलाई सम्बोधन गरिरहेकी थिइन्। उनले समाचोलकले सर्जकलाई होइन तर उनको कृतिलाई अध्ययन गरेर समालोचकीय प्रतिक्रिया पोख्नुपर्ने बताइन् अनि हालमा देखा परिरहेको कतिपय युवा लेखकहरूको सिर्जनशीलताको प्रशंसा गरिन्। सरकारी शिक्षण प्रशिक्षण संस्थानका पूर्व प्राचार्य बी आर छेत्रीको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रमका मुख्य अतिथिका रुपमा सिक्किम विश्वविद्यालयको नेपाली साहित्य अनि भाषा विभागका डिन प्रा. प्रतापचन्द्र प्रधान उपस्थित थिए। विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा. प्रधानले नेपाली समालोचनामाथि संक्षिप्तमा प्रकाश पारे अनि चरित्र प्रकाशनले तयार गरेको यस विशेषाङ्कलाई समालोचना साहित्यको क्षेत्रमा एक महत्त्वपूर्ण प्रकाशन भनी बताए। यसअघि समालोचना अङ्कका प्रधान सम्पादक तथा प्रकाशक सहदेव एस. गिरीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत जनाउने क्रममा चरित्र प्रकाशनको संक्षिप्त जानकारी दिँदै सन् १९८६ देखि यस प्रकाशनले कार्य गरेर आइरहेको बताए। उनले यस कार्यलाई निष्पादन गर्न तीन वर्षको अथक परिश्रम गर्ने सम्पादकहरूलाई बधाई टक्र्याउँदै सम्बन्धित सबैलाई हार्दिक धन्यबाद पनि प्रकट गरे। युवा समालोचक बासुदेव पुलामीले आफ्नो वार्ता प्रस्तुत गर्दै नेपाली समालोचना साहित्यमाथि प्रकाश पारे भने सभापति बी आर छेत्रीले कालेबुङको माटोमा जन्मेको चरित्र प्रकाशनले दीर्घ दिनदेखि नेपाली साहित्यप्रति पुऱ्याएर आइरहेको योगदानलाई मध्यनजर गरेर यसलाई अब प्रकाशन होइन तर चरित्र केन्द्र भन्नुपर्ने बताए। समालोचक-साहित्यकार डा. कुमार प्रधानको आकस्मिक निधनप्रति दुइ मिनटको मौन धारण गरेर शुरु गरिएको कार्यक्रमको सञ्चालन युवा लेखक हीरा छेत्रीले गरेका थिए। कार्यक्रमअन्तर्गत युवा लेखकत्रय उदय थुलुङ, वासुदेव पुलामी अनि डिल्लीप्रसाद अधिकारीलाई चरित्र प्रकाशनले आफ्नो परम्पराअनुसार अभिनन्दन पनि जनाएको थियो। पत्रिकाको विशेषाङ्कको विमोचन मुख्य अतिथि डा. प्रधान, वार्ताकार द्वय डा. कविता लामा अनि वासुदेव पुलामी अनि सभाध्यक्ष बी. आर. छेत्री तथा प्रधान सम्पादक सहदेव एस. गिरीको बाहुलीबाट गरिएको थियो भने कार्यक्रममा कवि किशोर छेत्रीले स्वरचित कविता पाठ पनि गरेका थिए। विमोचनपछि मुख्य अतिथि प्रा. प्रधानले पत्रिकालाई शोधार्थी छात्रहरूका निम्ति सहयोगी ठहर गर्दै आफ्नो सिक्किम विश्वविद्यालयको नेपाली विषयको पाठ्यक्रममा सन्दर्भ पुस्तकको रुपमा समाविष्ट गरिएको घोषणा पनि गरे जसलाई विश्वविद्यालयकै नेपाली विभाग प्रमुख डा. कविता लामाले मोहर लगाएको जानकारी पनि दिइन्। उल्लेखनीय छ, कालेबुङको चरित्र प्रकाशनले यसअघि कथा विशेषाङ्कको रुपमा बाह्रौ अङ्क प्रकाशित गरेको थियो भने आगामी परिकल्पनाको रुपमा भारतेली नेपाली नारी हस्ताक्षर विशेषाङ्कको तयारी शुरु गरिसकेको छ। आज लोकार्पित पत्रिकाको आकार अनि प्रकारलाई मध्यनजर गरेर कतिपय लेखकहरूले यस कार्यलाई दार्जीलिङ अथवा भारतीय नेपाली साहित्यमै पहिलो प्रयास भएको बताएका छन्।

0 comments: