Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Feb 2015

दलमा दक्ष नेताको सङ्कट

कालेबुङ,12 फरवरी (प्रदीप लोहागुण)ः-  
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका सर्वमान्य नेता सुवास घिसिङको देहावसान पछि यस दलको अस्तित्व र भविष्यलाई लिएर पार्टी नेतृत्व र कार्यकर्ताहरूमा चिन्ता बढेको छ भने यो दलको उतारचढाउमा चासो राख्नेहरूमा कौतूहल देखा परेको छ। घिसिङको निधनको खबरले निराश र विह्वल कार्यकर्ताहरूको भरोसा थेग्न हतारपतार पार्टीले सुवास घिसिङका छोरा मन घिसिङलाई दलको कमान त सुम्पियो तर लामो राजनैतिक दौडमा पार्टीको रणनीति र कार्यनीति थेग्न सक्ने तिनको क्षमतालाई लिएर दलभित्रै धेरैलाई शंका छ। 5 अप्रेल 1980-देखि मृत्युपर्यन्त गोरामुमोको कमान सम्हालेका सुवास घिसिङजतिको उचाइँको नेता गोरामुमोभित्र देखिँदैन।पार्टीभित्र सधै बटवृक्षजस्तो उभिएका सुवास घिसिङले पनि अन्य क्षेत्रिय दलहरूको परम्परा अनुसरण गर्दै आफूपछि दलको नेतृत्व सम्हाल्ने अर्को नेता बनाउने कार्य गरेनन। सुवास घिसिङका छोरा मन घिसिङलाई पनि बाबुको सहानुभूतिको लहरमा पार्टीको कुर्सी प्रदान गरिएको जस्तो देखिन्छ जबकि गोरामुमो अनि पहाडको राजनैतिक पटलमा उनको नाम कुनै दिन चर्चामा थिएन। उनी राजनैतिक रूपले पनि कति परिपक्व छन भन्ने प्रश्न उठाउनेहरू पनि पार्टीभित्र छन। घिसिङको निधनले जन्माएको नयाँ परिस्थितिमा मन घिसिङलाई पार्टीको नेतृत्व सम्हाल्न त दिइएको छ तर गोरामुमोका दोस्रो दर्जाका नेताहरूमा पनि त्यो कुर्सीसम्म पुग्ने महत्वाकांक्षा भने समाप्त भइहालेको छैन। यतिबेला गोरामुमोको नयाँ नेतृत्वलाई लिएर पार्टी कार्यकर्ता र समर्थकहरूमा केही शंका र अन्योलता त उब्जेकै होला तर यतिबेला यो दलको एडभान्टेज भनेको पार्टीप्रति आशा राखेर बसेका कटटर कार्यकर्ता र समर्थकहरूको समर्थन र आस्था हो। अहिले पनि हरियो झण्डा’-को छहारीमुनि आफूलाई सुरक्षित ठान्ने कार्यकर्ता र समर्थकहरूको कुनै कमी छैन। यस्तो जनसमर्थन र आस्था अरू दलहरूले चाहेर पनि पाउन सकेका छैनन। सांगठनिक शक्तिको आधारमा गोरामुमोलाई अहिले दोस्रो सर्वबृहत दलको रूपमा हेर्न सकिन्छ। तर यति हुँदा हुँदै पनि दलका दिवङ्गत नेता सुवास घिसिङको दीर्घकालिन मौनताले यो पार्टीलाई गतिहीनताको खाडलमा जाक्ने काम भने अवश्यै गरेको छ। यतिबेला गोरामुमो नेतृत्वसँग आन्तरिक अनि वाह्य दुवै खाले चुनौतिहरू खडा भएका छन। दलका सर्वमान्य नेताको निधनले कार्यकर्ता र समर्थकहरू निराश र पलायन हुने सम्भावना बढेको छ। तिनका भरोसा र आस्थालाई नयाँ नेतृत्वले कसरी व्यवस्थापन गर्ने हुन् भन्ने कुरा चुनौतिपूर्ण नै देखिन्छ। यी बाहेक गोरामुमोभित्र निर्माण भएको नयाँ परिस्थितिमा नेतृत्वको होडबाजी, गूटबन्दी र आन्तरिक चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ। अर्कोतिर, लामो समयदेखि राजनैतिक क्रियाकलाप शून्य रहेको यो दललाई सांगठनिक रूपले पुनर्गठन र सुदृढीकरण गर्नु पर्ने खाँचो देखिन्छ। अर्कोतिर, पहाडको राजनीतिमा चासो राख्ने एकथरी मानिसहरू घिसिङपछिको परिवर्तित परिस्थितिमा गोरामुमोले राजनैतिक गतिशीलता हासिल गर्न सक्ने अनुमान पनि गर्छन। दलको मूल मुद्दा छैटौं अनुसूचीलगायत पहाडका जनसरोकारका मुद्दाहरूमा नयाँ नेतृत्व सुवास घिसिङझैँ मौनता साँधेर नबस्लान भन्ने उनीहरूको अडकल छ। आफ्ना समर्थकहरूको आस्था कायम राख्न अनि नयाँ मानिसहरूलाई पार्टीसँग जोडेर दलको पुरानो शक्ति पुनर्बहाल गर्ने दिशामा पनि नयाँ नेतृत्वले राजैतिक गतिविधि र अभ्यास शुरु गर्न सक्ने राजनीति सचेत मानिसहरूको सोचाइ छ।

0 comments: