Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

23 Nov 2011

चौतारी: प्रेमको सार समर्पण

जनार्दन आचार्य(नेपाल) 23.11.2011आजको दिन भगवान् श्री सत्य साई बाबाले यस धरतीमा मानव रूपमा अवतार लिनुभएको शुभ दिन हो । उहाँको साकार मानव देहले महासमाधि लिइसकेको छ तर उहाँ विश्वका करोडौं भक्तका हृदयमा स्थायी रूपमा स्थापित हुनुहुन्छ । निराकार साई सर्वव्यापक हुनुहुन्छ । श्री सत्य साई बाबाले प्रतिस्थापन गर्नुभएको श्री सत्य साई संगठन एक विराट स्वरूप हो र यो अनन्तसम्म जीवन्त रहनेछ । श्री सत्य साई संगठन एक आध्यात्मिक संगठन हो । यसले गर्ने प्रत्येक कार्य आध्यात्मिक उत्थानमा आधारित हुन्छ । यहाँबाट जेजस्ता कार्य हुन्छन् सबै मानवसेवा र कल्याणका लागि मात्र हुन्छन् । कामको परिमाणभन्दा काम गर्दाको भावलाई महत्त्व दिइन्छ । कार्य गर्दा वा सेवामा संलग्न हुँदाको भाव नै भगवान्को पूजा हो । निःस्वार्थ तथा पवित्र भावले मानवसेवामा संलग्न भई आफ्नो आध्यात्मिक विकास गर्नु नै श्री सत्य साई संगठनको मूल उद्देश्य हो ।

भगवान् श्री सत्य साई बाबा भन्नुहुन्छ, 'गीतामा उल्लिखित भक्तियोग, कर्मयोग, ज्ञानयोग आदि योगको लक्ष्य भक्त र भगवान्लाई जोड्नु हो । सबै योगको एक मात्र लक्ष्य जीवात्मालाई परमात्मासँग मिलन अथवा एकाकार गराउनु हो । यहाँ केही मानिस हठयोग, क्रियायोग र राजयोगप्रति आकषिर्त भएका छन् । उनीहरूको विचारमा मात्र यी योगद्वारा भगवान्सँग साक्षात्कार हुन सकिन्छ भन्ने छ तर सबै योगहरूले हृदय स्वच्छ गर्न र सांसारिक बन्धनबाट मुक्त गर्न मद्दत मात्र गर्ने हो । यी कुनै पनि योगले परमात्माकहाँ पुर्‍याउन सक्दैनन् । प्रेमयोगले मात्र परमात्मासँग मिलन गराउन सक्छ ।'  तसर्थ प्रेमयोग नै साईयोग हो । प्रेमपथ नै साईपथ हो । सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा नै साईपथ हो । यस पथमा पथिकका लागि कर्म नै पूजा हो र कर्तव्य भगवान् । श्री सत्य साई बाबाको आदर्शपथ यही हो । मानिस कर्मबेगर एक पल पनि रहन

सक्दैन । तिमीले आफ्ना कर्म पनि पवित्र, स्वच्छ, निर्मल, प्रेमपूर्ण र सुवासयोग्य बनाएर भगवान्लाई चढाउनुपर्छ अर्थात् तिम्रो कार्य चोखो, असल र उत्कृष्ट हुनुपर्छ । यस्तो कार्य नै कर्मयोग हो भनी भगवान् श्री सत्य साई बाबाले भन्नुभएको छ । 

बाबा भन्नुहुन्छ, 'गीताले तिमीलाई यस्तै कर्म भगवान्लाई अर्पण गर्न प्रेरित गरेको छ । जब तिमी यस्तै स्वच्छ कर्म कर्ता भावरहित भई निःस्वार्थ भावले भगवान्का चरणमा अर्पण गर्छौ, तिमी सबै कर्म बन्धनबाट मुक्त हुनेछौं । यसलाई नै अनाशक्तियोग भनिन्छ । गीताले तिमीलाई कर्म गर्न प्रोत्साहन मात्र होइन, गरिने कर्म भगवान्लाई अर्पणयोग्य बनाउन पनि प्रोत्साहित गरेको छ । अनाशक्तियोग बुद्धियोगभन्दा पनि कयौं गुना महान् र उच्च छ । तिमीले प्रयास गर्‍यौ भने तिम्रा सम्पूर्ण कर्म अनाशक्तियोगमा परिणत गर्न सक्छौं । बाबा भन्नुहुन्छ, 'प्रत्येक कर्म भगवान्लाई समर्पण गर र प्रत्येक सेवाका अवसरलाई भगवान्को प्रसादका रूपमा ग्रहण गर । यस प्रकारको निःस्वार्थ र आध्यात्मपरक सेवा नै आजको आवश्यकता हो । तिमीहरू यही पथबाट भौतिक अन्नमयबाट विज्ञानमय र त्यसबाट पनि अझ उच्च दैविक आनन्दमय स्थितिमा पुग्नु छ । प्रत्येकको हृदयमा एउटै परमात्मा निवास गर्नुहुन्छ । तसर्थ, निःस्वार्थ प्रेमपूर्वक गरिएको मानवसेवा नै माधव सेवा हो । यसरी गरिएको कर्म नै पूजा हो ।' बाबाका शब्दमा, 'तिमीलाई तोकिएको कार्य वा पेसालाई बोझ नठान, भगवान्को प्रसाद सम्झ । तोकिएको कर्मलाई प्रसन्नता तथा इमानदारीसाथ सम्पन्न गर । प्रेमपूर्वक सम्पन्न गर । तिम्रो कर्म पूजामा परिणत हुनेछ ।' जब हाम्रो मन, वचन र कर्म स्वःस्फूर्त रूपमा प्रेमले ओतप्रोत हुन्छ तब हामी आफूलाई दैवत्वका रूपमा पहिचान गर्न सक्छौं । बाबा भन्नुहुन्छ, 'आज विश्वमा दुष्टता तथा पापकर्मको रोकथाम र विनाश गर्ने सबैभन्दा शक्तिशाली हतियार- प्रेम हो ।'

0 comments: