कालेबुङ,
 18 नोभेम्बर (प्रदीप)ः लगभग छःबर्षपछि लामो कविताकृति ‘घाउका रङहरू’-को 
दोस्रो संस्करण निकाल्न सकेको सुखद घटनाले यतिबेला यसका सर्जक मनोज बोगटी 
अनि प्रकाशक उपेश उपमा दुवै दंग छन। असीमित सपनाहरू लिएर झण्डै एक दशक अघि 
सिन्कोना कमानबाट कालेबुङ छिरेका यी दुइ युवकहरूको पहिलो कृति थियो घाउका 
रङहरू। त्योबेला युवाकविका रुपमा भर्खरै चर्चामा आउन थालेका मनोज बोगटीको 
पहिलो पुस्तकाकार कृति थियो यो अनि प्रकाशकका
 रुपमा पनि उपमा प्रकाशनका संस्थापक उमेश थापाको पहिलो भेँट यही थियो। आज 
आफ्ना सीमित शुभचिन्तक र पत्रकार साथीहरूलाई भेला पारेर अति सामान्य 
तरिकाले यो कृतिको लोकार्पण गरिरहँदा कवि र प्रकाशक दुवैको अनुहारमा छः 
बर्ष अघिको त्यही पुरानो खुशी दोहोरिरहेको थियो।छोटोछरितो अनौपचारिक 
किसिमको कार्यक्रममा कथाकार सञ्जय विष्टसहितका शुभचिन्तकहरूले यसको 
लोकार्पण गरेका थिए। छरितो आकार र आकर्षक कलेवरमा निकालिएको यो कृतिको 
दोस्रो संस्करण प्रकाशमा आएको कुरालाई कथाकार सञ्जय विष्टले ठूलै घटना 
माने। “भारतमा नेपाली कविताकृतिको दोस्रो संस्करण निस्किनु भनेको ठूलो कुरा
 हो। सर्जक र प्रकाशक दुवैलाई मेरो बधाई” लोकर्पणको औपचारिकता निर्वाह 
गर्दै कथाकार विष्टले भने। पहिलो चोटी 2008 मा प्रकाशित यो कविताकृतिले 
2012को युवा अकादमी पुरस्कार जितेपछि यसको चर्चा र माग झनै बढेको छ। पहिलो 
संस्करण ठामठिम भएपछि किताबको माग गर्ने आफ्ना पाठक र शुभचिन्तकहरूसँग 
पन्सिँदै  हिँडिरहेका थिए कवि मनोज बोगटी। “यसले पुरस्कार पाएपछि किताब 
सोध्नेहरूले मलाई हैरान पारेका थिए। किताब थिएन, यसकारण उनीहरूलाई सन्तोष 
गर्ने उत्तर थिएन। दोस्रो संस्करण ती पाठकहरूको निम्ति उत्तर हो मेरो” कवि 
बोगटीले दोस्रो संस्करण निकाल्ने अभिप्राय खुलाउँदै भने। पत्रकारितालाई 
पेशा बनाएर कालेबुङमा जीवन धानिरहेका यी युवाकविले लोकार्पणको कार्यक्रमलाई
 अवसर पारेर आफ्नो पुरानो दिनहरूको सम्झना पनि साझा गरेका थिए। “शुरुमा 
गाउँबाट कालेबुङ आउँदा मलाई व्यवस्थित पार्ने उमेश उपमा नै थिए। हामी दुवै 
सिन्कोनाबारीबाट आएका थियो। त्योबेला उनी जानकारी डटकम भन्ने पत्रिका 
चलाउथे। पछि उनी प्रकाशन संस्थानतिर लागे, म पत्रकारिता र कवितालेखनतिर। 
2008-मा घाउक रंगहरू उमेशले नै छापे। यही कृतिले युवा अकादमी पुरस्कार 
पाउँदा मभन्दा धेर खुशी हुने उमेश नै थिए” बोगटीले भने। कार्यक्रममा 
पत्रकार अनिल तेलैजा, प्रदीप लोहागुण, मणि तामाङ, छेवाङ योञ्जन, 
ताइक्वाण्डो खेलाडी सुसन थापा आदि सहभागी थिए। कवि बोगटीले  आफ्ना अन्य 
कृतिहरूमध्ये यसैले पुरस्कार पाउएको घटनालाई संयोग मात्र बताएका छन। आफ्नो 
मान्यता खुलाउँदै तिनले भने, ‘यो किताब विचार र जीवनलाई जोड्ने क्रममा 
स्वतस्फूर्त लेखिएको थियो। जुन केन्द्रिय मुद्दालाई कविताका हरफहरूले 
सम्बोधन गरेका छन्, यसले मान्यताप्राप्त साहित्यिक मठ साहित्य अकादमीसित 
संवाद गर्नु नै यस कृतिको सफलता हो। घाउका रङहरूबाहेक तिनको बिम्बगोष्टी, 
गीतको रिस, पसिनाको छाला अनि आँखा बाहिर कविताकृतिहरू प्रकाशमा आइसकेका छन।
 









 
 
 
 
 
 
0 comments:
Post a Comment