Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Apr 2012

रिङटाङ चियाकमान 23 अप्रेल देखि पुन खोलिने

19 अप्रेल(कालेबुङ):- कलकत्ता उच्च न्यायालयको आदेश पछि दार्जीलिङ जिल्ला प्रशासनले बन्द रिङटाङ चिया कमानका मालिकलाई श्रमिकहरुको बकाया राशि भुक्तान गर्न अनि आगामी सोमबारदेखि कमान पुन खोलाउने निर्देश दिएको छ। बन्द चियाकमानको समस्याबारे उच्च न्यायालयमा गरिएको जनहित याचिकाको संज्ञान लिँदै उच्च न्यायालयले कमानको समस्याको समाधान गर्ने दिशामा जिल्ला प्रशासनलाई पहल गर्ने निर्देश दिएपछि जिल्ला प्रशासनले यो पदक्षेप ग्रहण गरेको हो। बुधबार दार्जीलिङस्थित जिल्लापाल कार्यालयमा डाकिएको त्रिपक्षीय बैठकमा रिङटाङ चियाकमानका मालिक सुशिल चौधरीलाई जिल्लापाल एस मोहनले आगामी 23 अप्रेलदेखि कमान खोल्ने अनि बकाया राशिहरु भुक्तान गर्ने निर्देश दिएका छन। बुधबार जिल्लापालको कार्यालयमा सम्पन्न बैठकमा मोर्चाबाट महासचिव रोशन गिरी, कमानका मालिक सुशिल चौधरी, जिल्लापाल सौमित्र मोहन अनि श्रमिक संगठनका प्रतिनिधिहरु पीटी शेर्पा र सुरज सुब्बा उपस्थित थिए। रिङटाङ कमानको कारखाना सन 1996मा जलेदेखि यता यो कमान बन्द अवस्थामा छ।कमान बन्द भएपछि यहाँका 944जना श्रमिकहरुको परिवारले कष्टकर जीवन भोग्दै आइरहेका छन। चिया कमान खोल्ने माग गर्दै यहाँका श्रमिकहरुले दार्जीलिङ तराई डूवर्स प्लान्टेशन युनियनको नेतृत्वमा गत 26 मार्चदेखि नौ दिनको आमरण अनशन पनि गरेका थिए। युनियनको भनाई अनुसार कमान मालिकले 5 करोड, 70 लाख 30 हजार रुपियाँ भुक्तान गर्न बाँकी छ। जिल्लापालले कमान मालिकलाई यो राशि यो महिनाको अन्तिम सप्ताहसम्म चुक्ता गर्नु पर्ने निर्देश दिएको छ। यता, मालिकले यो राशि चुक्ता गर्न नसकेको खण्डमा कमानको लिज रद्द गरिनु पर्ने श्रमिक संगठनको भनाई छ। हिजो सम्पन्न भएको बैठकको अवधीमा कमानका श्रमिकहरुले जिल्लापाल कार्यालय परिसरमा धर्ना प्रदर्शन पनि गरेका थिए। अर्कोतिर, बैठकमा भएको सहमतिबारे जिल्लापाल एस मोहनले जानकारी दिएका छन।

0 comments: