Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Sept 2013

अस्तित्व संकटमा टाक्स फोर्स, गोजएक भंग भए के हुन्छ?

कालेबुङ 23 सेप्टेम्बरः-(प्रदीप) 
  
तेलङ्गना गठनको घोषणापछि निर्माण भएको नयाँ राजनैतिक परिस्थितिबीच गत 16 अगस्तका दिन गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटि अस्तित्वमा आएपछि यही मुद्दालाई अघि बढाउन भारतीय गोर्खा परिसङ्घको तत्परतामा गठित गोर्खाल्याण्ड टास्क फोर्स अप्रत्यासित ढंगले ओझेलमा परेको छ। गोटाफोको माउ संगठन भागोपलगायत सबै समावेशी दलहरू गोजोएकमा सामेल हुन पुगे पनि गोटाफोलाई आधिकारिक रुपले विघटन गरिएको छैन। मोर्चाले छुट्टै राज्यको आन्दोलनलाई शिथिल परेर जीटीए व्यवस्था जान अग्रसर भएपछि गोर्खाल्याण्डपन्थी दलहरूलाई एकबद्ध गरी अघि बढ्न भागोपले गोटाफो सूत्रपात गरेको थियो। भागोपले क्रामाकपा, गोर्खालीग अनि गोरानिमोलाई लिएर अलग राज्यको निम्ति साझा रुपले काम गर्न गोटाफो गठन गरेको थियो। तर जीटीएलाई असफल भन्दै गोर्खाल्याण्डको निम्ति सामुहिक नेतृत्वको अवधारणामा अघि बढ्न मोर्चाले सबै दलहरूलाई आग्रह गरेपछि गोटाफोका पदाधिकारीहरूलगायत  यसमा सामेल सबै दलहरू मोर्चासहितको गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटि गठन गर्न सहमत भएका थिए। तर गोजोएकमा सैद्धान्तिक विभेद चर्केपछि पहिले गोर्खालीग त्यसपछि गोरानिमो अनि गोराकंले क्रमिक रुपले यो साझा मञ्चबाट खुट्टा झिके। अहिले गोजोएकमा सक्रिय तवरले मोर्चा, क्रामाकपा अनि भागोपलाई देखिएको छ भने राष्ट्रीय कङ्ग्रेस अनि बीजेपीको पहाडे नेताहरूले पनि हैँसेमा होष्टे मिलाइ रहेका छन। यसबीच गोजोएकको तदर्थ समितिलाई स्थायी समितिको मर्यादा दिँदै यसका पदाधिकारीहरूमा व्यापक फेरबदल गरी अलग राज्यको निम्ति अझ दह्रोसँग काम गर्ने सङ्केत पनि दिएको थियो। तर यो समितिले तय गरेको अघिल्लो चरणको कार्यक्रमको मियाद पूरा नभइ मोर्चा अध्यक्ष बिमल गुरूङले आन्दोलनको नयाँ दशा र दिशाबारे विरोधाभासपूर्ण बयान जारी गरेपछि गोजोएकको अस्तित्व र स्थायीत्वबारे अचानक प्रश्न खडा भएको छ। आफै गोजोएकको अध्यक्ष रहेर पनि मोर्चा प्रमुख बिमल गुरुङले आउँदो दिनमा आन्दोलनको स्वरुप हिंसात्मक हुन सक्ने बयान जारी गरेपछि सामुहिक नेतृत्वको यो आवधारणा र पहल स्वभाविक रुपले अघि बढ्न सक्ला कि भन्ने संशयहरू देखा परेको छ। यस्तो अवस्थामा अहिले निष्क्रिय रुपले विद्यमान रहेको गोटाफोको  भूमिका र औचित्यप्रति राजनीतिसचेत मानिसहरूको चासो बढेको छ। गोटाफो आधिकारिक रुपले बिघटन नभएको स्थितिमा गोजोएक छोडी सकेका दलहरू गोर्खालीग अनि गोरानिमोले अब कुन प्रकारले गोर्खाल्याण्डको निम्ति काम गर्ने हुन् भन्ने सरोकारवालाहरूको चासो छ। तर गोटाफोका समावेशी दलका नेताहरूले भने यसबारे फरक मत जाहेर गरेका छन। गोटाफोको एउटा घटक दल गोरानिमो अध्यक्ष दावा पाखरिनले यस साझा मञ्चको ताजा स्थितिबारे आफू अनभिज्ञ रहेको मन्तव्य प्रकट गरेका छन। कारणवश गोजोएक असफल भएको स्थितिमा दलहरू फेरि गोटाफोमा फर्किन सक्ने अवस्था छ भन्ने स्वर्णभूमिको प्रश्नको उत्तरमा गोरानिमो अध्यक्ष दावा पाखरिनले भने, ‘अहिले नै खुलेर भन्न सक्ने परिस्थिति छैन तर गोटाफोमा फर्किने सम्भावना भने कमि देखिन्छ। ज्याकले यो आन्दोलनलाई लामो लैजान सकेन भने अरु विकल्प खोज्नैपर्छ। तर अहिलेको परिस्थितिमा ज्याकलाई मौका दिइ हेरौं भन्ने हाम्रो दलको सोँच छ तिनले मोर्चा अध्यक्षको ताजा बयानले ज्याकको दिशा र कार्यक्रममा सामुहिकताको अभाव देखा परेको विचार पनि व्यक्त गरेका छन। ‘ज्याकले आफ्नो कार्यक्रमको समीक्षा र आन्दोलनको प्रभावको आङ्कलन गर्ने काम गरेको छैन’ पाखरिनले भने। तिनले भागोप राष्ट्रव्यापी कार्यक्रम गर्नको साटो ज्याककेन्द्रित बनेको टिप्पणी पनि गरेका छन। यता गोर्खालीग महासचिव प्रताप खातीले पनि गोटाफोका समावेशी दलहरू अर्को शिविरमा स्थानान्तर भएपछि यो साझा मञ्चको औचित्य नै विलिन हुन पुगेको मन्तव्य जाहेर गरेका छन। तिनले अब गोटाफोलाई गोजोएकको विकल्पको रुपमा हेर्न सकिने वातावरण समाप्त भएको दावी पनि गरेका छन। अब गोटाफो नै चै हुँदैन। गोर्खालीग एकमात्र अडान परिवर्तन नगर्ने दल हो। अरु साथीहरू सुविधावादी राजनीति गर्छन्। साथीहरू कुरा फेर्छन्। दोहोरो नीति भएका साथीहरूसित मिलेर फेरि गोटाफोमा फर्किनु सारो छ। बरू हामीले मान्छे चिन्यौ, त्यो पो राम्रो भयो’ खातीले भने। अर्कोतिर, क्रामाकपा नेता जेबी राईले गोटाफो बिघटन नभएको तर निष्क्रिय रहेको बताउँदै अहिलेको परिस्थितिमा गोजोएकलाई नै मजबूत पार्दै अघि बढ्नु पर्ने कुराको पैरवी गरेका छन। राईले भने. ‘हामीबीच त्यस्तो मनोमालिन्य केही भएको छैन। ठूलो भूलबुझाइ पनि होइन। केही साथीहरू आफ्नो जिदमा अडेको कारण आफै ज्याक छोडेर गएका हुन तर छुट्टै राज्यको सवालमा उनीहरू कटिबद्ध नै छन। यसर्थ परिस्थितिवश गोटाफोमा फर्किन परे सारै गाह्रो होला भन्ने लाग्दैन’
यद्यपि क्रामाकपा उपाध्यक्ष राईले गोटाफोमा फर्किने कुराको साटो गोजोएकको सोँच र कार्यक्रमलाई शुद्धिकरण गर्दै अघि बढ्ने आफ्नो दलको प्राथमिकता रहेको विचार ब्यक्त गरेका छन। अहिले गोजोएकमा देखा परेको विरोधाभासलाई स्वाभाविक प्रक्रिया मान्दै तिनले भने, ‘हामीले यसको आचारसंहिता तयार पार्न नसकेको कारण समस्या देखा परेको हो। आउँदो बैठकमा यसको आचार संहिता निर्माण गरी त्यसलाई पालन गर्दै अघि बढ्ने छौं। आचारसंहिता बनिएपछि पछि दलहरूले आ आफ्नै पारामा काम गरी रहे हामीलाई पनि त्यहाँ बसीरहने कुनै औचित्य छैन’ यता, भागोपका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधानले गोटाफोलाई गोखाल्याण्ड चहाने दल र संगठनहरूलाई एकसाथ लिएर अघि बढ्ने भागोपको अभियानको अङ्ग बताउँदै यसलाई किन विघटन गरिएन भन्ने स्पष्टसँग खुलाउन चाहेनन। यद्यपि, तिनले गोटाफो विद्यमान रहीरहे यसलाई विकल्प मञ्चको रुपमा हेर्न सकिने सम्भावना पनि कायम रहने बताएका छन। ‘अहिलेको परिस्थितिमा हाम्रो लक्ष्य भनेको गोजोएकलाई मजबूत बनाएर आन्दोलनलाई अघि बढाउने हो। किनभने यो नयाँ मञ्च दलहरूको इच्छाबाट नभएर जनताको चाहनाले जन्माएको हो। केही बाङ्गो टेडो कुराहरू देखा परेका छन जसलाई सुधारेर अघि बढ्न सकिन्छ’ डा प्रधानले भने। तिनले भागोप सम्भव भएसम्म ज्याकमै बसेर काम गर्ने पक्षमा रहेको बताउँदै गोजोएकमार्फत जनताको चाहनालाई सम्बोधन गर्न नसकिने परिस्थिति निर्माण भएको अवस्थामा गोटाफोलाई पुनः अघि बढाउन सकिने मत जाहेर गरेका छन।


0 comments: