Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Sept 2013

आउँदो रणनीतिको 'इन साइड स्ट्रोरी...'

कालेबुङ 24 सेप्टेम्बरः-

(विशेष सम्वाददाता)

एक महीना लामो बन्द र राजनैतिक कार्यक्रमको अभ्यासपछि अन्ततः मोर्चा जीटीएतिरै फर्किने भएको छ। तर यसपालि जीटीएलाई एउटा अस्त्रको रुपमा प्रयोग गरी राज्यको प्रहारको कौशलगत सामना गर्न चहान्छ मोर्चा। आगामी 27 सेप्टेम्बरमा जीटीए प्रमुखको चयन गर्न डाकिएको  बैठकलाई केन्द्र गरी मोर्चाले ग्रहण गरेको ताजा लाइन यही हो। सोमबार दार्जीलिङमा सम्पन्न मोर्चाको शीर्ष समितिको बैठकमा पार्टी नेतृत्वले व्यापक छलफल गरी यही निस्कर्ष निकालेको विश्वस्त सूत्रले जनाएको छ। दार्जीलिङबाट विश्वस्त सूत्रले दिएको जानकारीअनुसार पार्टीको 27 तारिकको बैठकको बिहान मात्र नयाँ जीटीए चीफको नाम सार्वजनिक गर्ने भएको छ। सोमबार सिंहमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्य र सभासदहरूको बैठकले ‘केही समयको निम्ति’ जीटीएमा फर्किनु पर्ने कुरामा जोड दिएको थियो। सभासद र केन्द्रीय समिति सदस्यहरू गरी कूल 28 जनाको उपस्थिति रहेको यस महत्वपूर्ण बैठकमा मोर्चा अध्यक्ष बिमल गुरुङ अनुपस्थित रहेको सूत्रको भनाइ छ। बैठकमा सभासदहरू लोपसाङ लामा अनि रतन थापाको पनि  अनुपस्थिथि थियो। अहिलेको ताजा परिस्थितिमा जीटीएलाई तत्कालै छोड्न नहुने बैठकमा उपस्थित अधिकांश नेतृत्वको मत थियो। जीटीएलाई अहिले नै चटक्क छोड्नको साटो एउटा विशेष समयावधीसम्म सञ्चालन गरी रणनीतिपूर्ण तरिकाले छोड्दा बुद्धिमत्ता हुने कुराबारे बैठकमा निकै विमर्श गरिएको थियो। बैठकको निष्कर्षबारे पछि एउटा टोलीले मोर्चा प्रमुख बिमल गुरुङलाई पातलेबाँसमा भेटेर जानकारी गराएको सूत्रले जनाएको छ। सूत्रको भनाइअनुसार बैठकमा नयाँ जीटीएप्रमुखको नाममा भने मोहर लाग्न सकेन। ‘पार्टीले कसलाई जीटीए प्रमुखको पदभार दिन्छ भन्ने तय भएन। मोर्चा अध्यक्ष आफैले यसको निर्णय लिउन् भन्ने सबैको धारणा थियो’ स्रोतले बैठकमा भाग लिने एकजना नेतालाई उद्धृत गर्दै भनेको छ। सूत्रले मोर्चाद्वारा मनोनित सभासद बिर्खू भुसाललाई जीटीए सभासद बनाउन सकिने कुरालाई पनि खारेज गरेको छ। जीटीएकानूनमा मनोनित सदस्यलाई कार्यपालको पदमा बहाली गर्न सकिने प्रावधान नरहेका कारण तकनीकि दृष्टिले भुसालको नामको अनुमान सही नरहेको सूत्रले भनेको छ। यता, अहिले बन्दी अवस्थामा रहेका सभासदहरूलाई 27को बैठकमा भाग लिन जीटीएसभाले सूचना जारी गरेको छ। राज्य सरकारले बैठक अघि बन्दी सभासदहरूलाई पीआर बोण्डमा छोड्न सक्ने सम्भावना बढेको छ। अर्कोतिर, गोर्खाल्याण्ड जोइण्ट एक्शन कमिटिका घटक दलहरू क्रामाकपा अनि भागोपले मोर्चा जीटीए सञ्चालनको दिशामा अग्रसर भए यस दलको बैमानी र जनताप्रति विश्वासघात हुने प्रतिक्रिया व्यक्त गरेका छन। क्रामाकपा प्रवक्ता गोबिन्द छेत्रीले मोर्चालाई सत्ता र सहुलियतको लोभमा फस्न नहुने सल्लाह दिँदै भने, ‘जीटीएमा बसेर गोर्खाल्याण्ड आन्दोलन हुँदैन। यदि साच्चै मोर्चाले यस्तो निर्णय लिन्छ भने यो जनतासँग विश्वासघात हुनेछ। गोर्खाल्याण्डको निम्ति जनताले गरेको त्याग, समर्पण र संघर्षको हिसाब मोर्चाले दिनुपर्छ अनि उनीहरूले पनि जनताबाट यसको जवाफ पाउनेछन’ मोर्चा जीटीएमा फर्किएको अवस्थामा गोजोएकको स्थिति के हुनेछ भन्ने प्रश्नको उत्तरमा तिनले भने, ‘मोर्चा जीटीएको सत्ता सञ्चालनमा फर्किन्छ भने यो क्रामाकपालाई स्वीकार छैन। यस्तो परिस्थिति निर्माण भए हामी आफ्ना घटक दलहरूसँग बिमर्श गरी एउटा ठोस निर्णयमा पुग्नेछौं’

यता, भारतीय गोर्खा परिसघका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधानले पनि मोर्चा जीटीए सञ्चालनमा जाने निर्णय लिएको घटनाले मुद्दाप्रति उनीहरूको इमानदारी र प्रतिबद्धता कति छ भन्ने कुरा प्रष्ट भएको प्रतिक्रिया जाहेर गरेका छन। तिनले जीटीएलाई अचल राख्ने मोर्चाको प्रतिश्रुतिको आधारमा गोजोएकलाई अस्तित्त्वमा ल्याइएको बताउँदै यसले मोर्चाको बैमानी प्रमाणित हुने टिप्पणी गरेका छन। ‘जीटीए चलाएर गोजोएकमा बसिरहनु हामीलाई स्वीकार छैन। जीटीए नचाहने जनताको चाहना र चापकै कारण यो मञ्च बनिएको हो।यदि उनीहरू फेरि जीटीएतर्फ उन्मुख हुन्छन भने उनीहरूको इमानदारी पनि प्रष्ट हुनेछ’ यद्यपि तिनले यस्तो परिस्थिति सृजना भएको अवस्था पनि गोजोएक विद्यमान रहने अनि यसले अलग राज्यको निम्ति काम गरिरहने दाबी गरेका छन। ‘यदि मोर्चाले  जीटीए चलाउने मन बनाएको छ भने उनीहरू स्वतः गोजोएक छोडेर गएको उचित हुनेछ। तर हामी रहल दलहरू यही मञ्चमा बसेर अलग राज्यको निम्ति काम जारी राख्नेछौं’ डा एनोसदास प्रधानले भने।

0 comments: