Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

27 Feb 2015

निराश छन् विधायक डा. छेत्री

कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः- 
केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ।
उनले काम राम्रै गर्दैछन्
, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका छन्, भइहाल्यो। उनले कोइबेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि
पार्टीप्रमुखले यो प्रतिक्रिया दिएको यतिका दिनपछि पनि न डा हर्कबहादुर छेत्रीले मन दुखाउन छोडेका छन् न पार्टी नेतृत्वले उनीसँग बसेर चित्त माझामाझ गरेको छ। बरू उल्टै पार्टी र डा छेत्रीको सम्बन्ध 36को आकडामा परिणत हुने क्रममा छ। भोलि शुक्रबार बिधानसभाको बजट अधिवेशनमा भाग लिन कलकता हुइँकिने चटारोमा रहेका डा हर्कबहादुर छेत्रीसँग दस मिनटको छोटो कुराकानीमा पनि यति कुरा बुझ्न गारो भएन। उनीसहित पहाडका तीनजना विधायकहरू भोलि हुने बजेट अधिवेशनको सत्रमा भाग लिन जादैछन्। तर पहाडको हक-हित र सरोकारका कुन कुन मुद्दा र समस्याहरू उठान गर्ने भन्नेबारे उनीहरूलाई न पार्टीले निर्देश दिएको छ न जीटीएले फिडब्याक नै दिएको छ। डा हर्कबहादुर छेत्रीले त झन मोर्चाको दार्जीलिङकेन्द्रित नेतृत्वसँग बसेर पार्टी र मुद्दाहरूबारे छलफल नगरेको नै धेरै भइसकेको छ। बरू उनलाई पार्टीसम्म आफ्नो कुरा पुर्‍याउन मिडीया सहज माध्यम बनेको छ। पार्टी नेतृत्वलाई सोझै भन्न नसकेका कुराहरूले उनले मिडियाबाट छिराएर भन्ने गरेको कुरा पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाई पनि थाहा भइसकेको छ। पहाडका तीनैजना विधायकहरू जीटीएका एक्स अफिसियो मेम्बरहरू हुन्। तर जीटीएको बैठक कहिले हुन्छ र केके कुराहरू पारित हुन्छन भन्ने कुरा आधिकारिक रूपले डा हर्कबहादुर छेत्रीलाई थाहा हुँदैन। “बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन। “त्यही दार्जीलिङमा बस्ने त्रिलोक देवानलाई जीटीएको बैठकमा कहिले बोलाइँदैन, मेरो के कुरा”  डा छेत्रीले भने। जहिले भेट्दा पनि कलकता हिडँन हतारिरहेका डा छेत्रीलाई अहिले बरू दार्जीलिङभन्दा कलकता नै नजिक लाग्न थालेको जस्तो भान हुन्छ। आज पनि उनी कालेबुङमा सम्पन्न एउटा साहित्यिक कार्यक्रममा दुइघण्टाको निम्ति सहभागी हुन आइपुगेका थिए। बुधबार सम्पन्न विधानसभा सत्रमा राज्यपालको भाषण सुनेर अनि आफ्नो कुरा राखेर बेलुकीको ट्रेन चढेर उनी कालेबुङ आइपुगेका थिए। आज अपरान्ह कार्यक्रम सक्दा नसक्दा उनी कलकताका निम्ति प्रस्थान पनि भइसकेका थिए। पार्टीले उनीसँग किन दूरत्व बनाउन थालेको छ? के उनको कलकतामोह पार्टीलाई मन नपरेको हो कि पार्टीभित्र उनको उपयोगिता समाप्त भएकै हो? मोर्चा नेतृत्व र डा हर्कबहदुर छेत्री, दुवै शिविरबाट समय समयमा आउने विरोधाभाषपूर्ण बयानले यतिबेला प्रश्नहरू सतहमा उठेर आउनु स्वभाविक देखिन्छ। शुरुका दिनमा डा हर्कबहादुर छेत्रीको उपयोगिता पार्टीभित्र कतिसम्म थियो भने बिमल गुरूङसमेत उनको कुशाग्र बौद्धिक क्षमता, वाकपटुता र तार्किकतासँग प्रभावित थिए। पार्टीको हरेक साना ठूला गल्ती र कमजोरीहरूलाई पनि उनी आफ्नो बेजोड तर्कशक्ति र वाटपटुताको भरमा ढाकछोप गर्थे। मोर्चा अध्यक्षले उनको यो गुणको सराहना गर्दै कालेबुङको एउटा कर्यक्रममा सार्वजनिक रूपमै भनेका पनि थिए, “डा हर्कबहादुर छेत्री पार्टीका लागि ढकनी हुन्” तर विधानसभा चुनाउ जितेर कलकता पुगेपछि उनको यो ढकनीको अवतार उघ्रेको देखिन्छ। आफ्नो बौद्धिकता र ज्ञानगुणका कारण उनी एकातिर कलकताको राजनैतिक समाजसँग नजिकिँदै गएका छन् भने अर्कोतिर आफ्नै दलबाट काटिँदै पनि गइरहेका छन। मुख्यमञ्त्री ममता व्यानर्जीसँगसमेत उनको सम्बन्ध यति नजिकिन पुग्यो कि कालेबुङको भ्रमणमा आउँदा मुख्यमञ्त्रीले डा छेत्रीको हिलटपस्थित आवासको चोठाकोठा नै चहारेर फर्किन। यो घटनाले उनलाई लिएर पार्टीभित्र राम्रो सन्देश जान सकेन। विधायक भएको केही महिना पछि उनलाई राज्य सरकारले सेरिकल्चर निदेशालयको महत्वपूर्ण पदमा राख्ने प्रस्ताव पनि दिएको थियो तर पार्टीको नेतृत्व पंक्तिले प्रस्ताव खारेज गरेपछि उनले यति प्रतिष्ठित पद गुमाउनु परेको थियो। उनी र पार्टीबीच अहिले देखा परेको दूरत्वको आरम्भिक चरणको बिन्दुको सूत्रपात यहीबाट भएको थियो। त्यसपछि पछिल्ला चरणमा त्रिपक्षीय अनि द्विपक्षीय वार्ताहरूमा उनलाई सामेल गरिएको देखिँदैन।
बुधबार सम्पन्न बिधानसभाको सत्रमा पनि उनी कालेबुङलाई जिल्लाको मर्यादा प्रदान गरिनु पर्ने कुराको वकालती गरिरहेका थिए। राज्यपालले आफ्नो अभिभाषणको क्रममा अलिपुरद्वारलाई नयाँ जिल्लाको दर्जा दिइएको सन्दर्भ झिकेपछि आफ्नो बोल्ने पालो आएपछि डा छेत्रीले कालेबुङलाई पनि नयाँ जिल्लाको दर्जा दिनु पर्ने मुद्दा विधानसभामा उठाएका थिए। उनले कालेबुङलाई किन जिल्लाको दर्जा दिइनुपर्छ भन्ने तथ्यपरक तर्कहरू सारेका थिए। कालेबुङको जनप्रतिनिधिको हैसियतमा उनले उठाएको यो मुद्दा जनमुखी र सापेक्षित हुनैसक्छ तर यो मुद्दाले पनि उनलाई अझै पार्टीको किनारीकरणको नीतिको शिकार हुनु पर्ने देखिन्छ। विधायकको रूपमा उनले उठाएको यो मुद्दा आफ्नो ठाउँमा सही भए पनि मोर्चाले पार्टीको नीतिगत तहमा कालेबुङलाई जिल्ला बनाउनु पर्ने कुरालाई स्पष्ट रूपमा कहिले उठाएको छैन। यस्तो स्थितिमा पार्टीसँग उनको भुलबुझाइ र दूरत्व मेटिनुका साटो अझै बढेर जाने सम्भावना चुलिएको छ।

14 Feb 2015

दलमा दक्ष नेताको सङ्कट

कालेबुङ,12 फरवरी (प्रदीप लोहागुण)ः-  
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका सर्वमान्य नेता सुवास घिसिङको देहावसान पछि यस दलको अस्तित्व र भविष्यलाई लिएर पार्टी नेतृत्व र कार्यकर्ताहरूमा चिन्ता बढेको छ भने यो दलको उतारचढाउमा चासो राख्नेहरूमा कौतूहल देखा परेको छ। घिसिङको निधनको खबरले निराश र विह्वल कार्यकर्ताहरूको भरोसा थेग्न हतारपतार पार्टीले सुवास घिसिङका छोरा मन घिसिङलाई दलको कमान त सुम्पियो तर लामो राजनैतिक दौडमा पार्टीको रणनीति र कार्यनीति थेग्न सक्ने तिनको क्षमतालाई लिएर दलभित्रै धेरैलाई शंका छ। 5 अप्रेल 1980-देखि मृत्युपर्यन्त गोरामुमोको कमान सम्हालेका सुवास घिसिङजतिको उचाइँको नेता गोरामुमोभित्र देखिँदैन।पार्टीभित्र सधै बटवृक्षजस्तो उभिएका सुवास घिसिङले पनि अन्य क्षेत्रिय दलहरूको परम्परा अनुसरण गर्दै आफूपछि दलको नेतृत्व सम्हाल्ने अर्को नेता बनाउने कार्य गरेनन। सुवास घिसिङका छोरा मन घिसिङलाई पनि बाबुको सहानुभूतिको लहरमा पार्टीको कुर्सी प्रदान गरिएको जस्तो देखिन्छ जबकि गोरामुमो अनि पहाडको राजनैतिक पटलमा उनको नाम कुनै दिन चर्चामा थिएन। उनी राजनैतिक रूपले पनि कति परिपक्व छन भन्ने प्रश्न उठाउनेहरू पनि पार्टीभित्र छन। घिसिङको निधनले जन्माएको नयाँ परिस्थितिमा मन घिसिङलाई पार्टीको नेतृत्व सम्हाल्न त दिइएको छ तर गोरामुमोका दोस्रो दर्जाका नेताहरूमा पनि त्यो कुर्सीसम्म पुग्ने महत्वाकांक्षा भने समाप्त भइहालेको छैन। यतिबेला गोरामुमोको नयाँ नेतृत्वलाई लिएर पार्टी कार्यकर्ता र समर्थकहरूमा केही शंका र अन्योलता त उब्जेकै होला तर यतिबेला यो दलको एडभान्टेज भनेको पार्टीप्रति आशा राखेर बसेका कटटर कार्यकर्ता र समर्थकहरूको समर्थन र आस्था हो। अहिले पनि हरियो झण्डा’-को छहारीमुनि आफूलाई सुरक्षित ठान्ने कार्यकर्ता र समर्थकहरूको कुनै कमी छैन। यस्तो जनसमर्थन र आस्था अरू दलहरूले चाहेर पनि पाउन सकेका छैनन। सांगठनिक शक्तिको आधारमा गोरामुमोलाई अहिले दोस्रो सर्वबृहत दलको रूपमा हेर्न सकिन्छ। तर यति हुँदा हुँदै पनि दलका दिवङ्गत नेता सुवास घिसिङको दीर्घकालिन मौनताले यो पार्टीलाई गतिहीनताको खाडलमा जाक्ने काम भने अवश्यै गरेको छ। यतिबेला गोरामुमो नेतृत्वसँग आन्तरिक अनि वाह्य दुवै खाले चुनौतिहरू खडा भएका छन। दलका सर्वमान्य नेताको निधनले कार्यकर्ता र समर्थकहरू निराश र पलायन हुने सम्भावना बढेको छ। तिनका भरोसा र आस्थालाई नयाँ नेतृत्वले कसरी व्यवस्थापन गर्ने हुन् भन्ने कुरा चुनौतिपूर्ण नै देखिन्छ। यी बाहेक गोरामुमोभित्र निर्माण भएको नयाँ परिस्थितिमा नेतृत्वको होडबाजी, गूटबन्दी र आन्तरिक चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ। अर्कोतिर, लामो समयदेखि राजनैतिक क्रियाकलाप शून्य रहेको यो दललाई सांगठनिक रूपले पुनर्गठन र सुदृढीकरण गर्नु पर्ने खाँचो देखिन्छ। अर्कोतिर, पहाडको राजनीतिमा चासो राख्ने एकथरी मानिसहरू घिसिङपछिको परिवर्तित परिस्थितिमा गोरामुमोले राजनैतिक गतिशीलता हासिल गर्न सक्ने अनुमान पनि गर्छन। दलको मूल मुद्दा छैटौं अनुसूचीलगायत पहाडका जनसरोकारका मुद्दाहरूमा नयाँ नेतृत्व सुवास घिसिङझैँ मौनता साँधेर नबस्लान भन्ने उनीहरूको अडकल छ। आफ्ना समर्थकहरूको आस्था कायम राख्न अनि नयाँ मानिसहरूलाई पार्टीसँग जोडेर दलको पुरानो शक्ति पुनर्बहाल गर्ने दिशामा पनि नयाँ नेतृत्वले राजैतिक गतिविधि र अभ्यास शुरु गर्न सक्ने राजनीति सचेत मानिसहरूको सोचाइ छ।

12 Feb 2015

सिक्किसँग मिल्ने - गुरूङ

कालेबुङ,11फरवरी (प्रदीप लोहागुण)ः-
  सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दामा गोजमुमो अध्यक्ष अनि जीटीए प्रमुख बिमल गुरूङ सिक्किम सरकारसँग मिलेर काम गर्न आग्रही देखिएका छन। एउटा धार्मिक अनुष्ठानमा सहभागी हुन कालेबुङ आएका मोर्चा प्रमुख गुरूङले पत्रकारहरूलाई यस आशयको बयान दिएका छन। सिक्किमका मुख्यमञ्त्री पवन चामलिङको एसडीएफ सरकारको लक्ष्य सम्पूर्ण गोर्खा जातिलाई जनजातिको दर्जा दिलाउने हो भन्ने बयानलाई केन्द्र गरी पत्रकारहरूले उनको प्रतिक्रिया जान्न चहाँदा गुरूङले यस्तो विचार व्यक्त गरेका हुन।  यो मुद्दामा सिक्किम सरकार र जीटीएले संयुक्त रूपमा काम गर्न सके यसको द्रूत परिणाम देखा पर्ने गुरूङको धारणा छ।
यसको निम्ति एउटा संयुक्त समिति गठन गरेर पहल गर्न सकिने उनले प्रस्ताव पनि राखेका छन। यो साझा मुद्दामा दुवै क्षेत्रबाट संयुक्त रूपमा काम हुनु पर्ने आवश्यकता रहेको बताउँदै बिमल गुरूङले भने, “हामीले जीटीए क्षेत्रका जातिहरूलाई जनजाति बनाउने होइन, सम्पूर्ण भारतका गोर्खाहरूलाई जनजाति बनाउने कुरा हो। सिक्किम, पूर्वोत्तरलगायत अन्य क्षेत्रहरूमा बस्ने सबै गोर्खाहरूलाई यसको खाँचो छ। यसको निम्ति हामी चाढैँ नै सिक्किमका मुख्यमञ्त्रसँग बसेर वार्ता गर्ने छौं। पार्टीगत रूपमा हामीले यो मुद्दालाई केन्द्र सरकारसमक्ष पुर्‍याइ सकेका छौं तर संयुक्त रूपले काम गर्न सिक्किमको पनि मदत चाहिन्छ। हामी आपसमा बसेर राम्ररी काम गर्‍यौं भने छिट्टै नै यसको परिणाम निस्किहाल्छ। हामीले शुरुमा नै उठान गरेको मुद्दा हो जुन जीटीएको सम्झौतामा पनि उल्लेख छ। भोलिको दिनमा सिक्किम सरकार र जीटीएको एउटा संयुक्त समिति गठन गरेर काम गर्न सक्य़ौं भने अझ उत्तम हुनेछ। यसमा अझै पूर्वोत्तरका प्रतिनिधिहरूलाई पनि सामेल गर्न सकियो भने व्यापक तहमा काम गर्न सक्छौं। यो जातिको मुद्दा हो, यसमा अगुवाइ कसले गर्छ भन्ने कुरा आउदैन। भोलिको दिनमा सिक्किमका मुख्यमञ्त्री र जीटीएका प्रमुखले सोचे भने भैहाल्ने कुरा हो। मन मिल्नु पर्छ। हामी भिन्न भिन्न प्रकारले हिड्यौं भने त हाम्रो माग पनि भङ्गलिन्छ। हामी एक भएर काम गर्‍यौं भने सबैको हित हुन्छ। म सानो मान्छे हूँ, यसको निम्ति म मेरो पक्षबाट पहल गर्छु”
 अर्कोतिर, दिल्ली विधानसभा चुनाउमा आम आदमी पार्टी (आप)को अप्रत्यासित विजयबारे सञ्चारकर्मीहरूले उनको प्रतिक्रिया लिन चहाँदा गुरूङले भाजपाको पक्षमा रक्षात्मक टिप्पणी जाहेर गरेका छन। दिल्लीको चुनाउमा आपको बिजय भए पनि केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकारलाई आँखीओझेल गर्न नमिल्ने उनको भनाइ छ। “केन्द्रमा सरकार कसको छ? भाजपा पूर्णमत लिएर केन्द्रमा बसेको छ। दिल्लीको चुनाउमा हारेको छ तर यस अघिको तिनवाट राज्यको चुनाउमा जितेको छ, त्यसको कुरा चै किन नगरेको मान्छेले? राज्यलाई कोष दिने नै केन्द्र हो। केन्द्र सरकारले माया गरेन भने त्यो राज्य चल्नु सक्छ? बङ्गालको हालत कस्तो छ, सबैले देखेकै छ। बिजेपीलाई दुश्मनीको दृष्टिले हेर्नेहरूको संख्या बढेको छ। बिजेपीको केही कमजोरीहरू भयो होला जसले गर्दा पराजय भोग्नु पर्‍यो तर आपको लागि पनि शासन चलाएर बस्नु कम चुनौतिपूर्ण छैन”
 यता, आफ्नै दलका विधायक अनि केन्द्रीय प्रवक्ता डा हर्कबहादुर छेत्रीले बेलाबेला जाहेर गरिरहने विरोधाभाषपूर्ण बयानका बारेमा पनि पत्रकारहरूले गुरूङको मन्तव्य मागेका थिए। विशेष गरी आउँदो विधानसभा चुनाउमा पार्टीको उम्मेद्वारिता स्वीकार गर्ने डा हर्कबहादुर छेत्रीको बयानलाई केन्द्र गरी सोधिएको प्रश्नमा गुरूङले भने, “उनले आफ्नो मन्तव्य जाहेर गर्छन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ।पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेको छन्, भइहाल्यो। उनले कोइ बेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि”

गोटी वाणी, विधानसभा र भ्यागुता

  • मनोज बोगटी

    ‘आगामी चुनाउको निम्ति हिन्दुस्तानमा जुन लहर चलिरहेको छ, त्यसमा दार्जीलिङले पनि काम गर्नुपर्छ,’ आरएसएसका इन्द्रेस कुमारले भने, ‘मलाई विश्वास छ यो दार्जीलिङ, अलिपुरद्वार, जलपाईगुढी, कुचबिहारले बङ्गाल सरकार पल्टाउनुमा काम गर्ने नै छ।’
त्यसपछि विमल गुरूङले आफ्नो काम शुुरु गरे। दार्जीलिङको निम्ति त तिनलाई चिन्ता छैन, यसकारण तिनी डुवर्सतिर झरिरहेका छन्‌।
‘तराई डुवर्स हाम्रो मुटु हो’, फरवरीको कुनै दिन 2012 मा विमल गुरूङले यसो भन्दा जीटीए चुनाउको कुटनीति चलिरहेको थियो। यही डायलग तिनले फरवरीको कुनै दिन 2015 मा दोहोर्‍याउँदा विधानसभा चुनाउको कुटनीति चलिरहेको छ। स्पष्ट के छ भने विमल गुरूङले यो डायलगलाई चुनाउको निम्ति फ्यॉंकिने ‘गोटी वाणी’ बनाउँदै आइरहेका छन्‌। ‘कुटनीति’ राजनैतिक खेलाको बलियोे सुत्र हो तर त्यो कुटनीतिभित्र दलीय स्वार्थ र जनस्वार्थ अलग अलग देखा पर्‍यो भने त्यही कुटनीति दुर्भाग्य बन्ने सम्भावना बढ्‌छ। 2012 को  ‘गोटी वाणी’ को उद्देश्यलाई केलाएर हेरौं, विमल गुरूङको बद्नीति स्पष्ट हुन्छ।
श्यामल सेन सरकारी नियुक्ति खाइरहेका थिए। ममता व्यानर्जीले देशलाई सय दिनमा बङ्‌गालको अनुहार ‘चेञ्ज’ गर्ने जुन डेटलाइन दिएकी थिइन्‌, त्यसले विमल गुरूङको कलिलो दिमाग भत्काउन गाह्रो थिएन। आन्दोलन थन्काएर कुनै ‘पावर’को निम्ति घुँडा टेकेका विमल गुरूङलाई त्यही श्यामल सेनको जिम्मा दिएर कालेबुङ, दार्जीलिङ र खरसाङ महकुमाभित्र कॉंडेतार लगाएर राखियो। त्यो कॉंडेतारले घेरिएको खोर थियो जीटीए। खोर भित्रका बाघ थिए विमल गुरूङ।  भन्नलाई श्यामल सेनलाई तराई डुवर्सको भूभाग जीटीएमा टॉंस्नको निम्ति ‘अध्ययन गर्न अनि विकल्प निकाल्न’ नियुक्त गरिएको थियो तर त्यो देखाउने दॉंत थियो। श्यामल सेन पहाड, तराई र डुवर्सका जनताको आँखामा हाल्ने धुलो थियो,  जुन धुलो पिस्नुमा विमल गुरूङको ठूलो हात छ।
अहिले जीटीए छ, जीटीएमा विमल गुरूङ छन्‌ अनि जीटीे बाहिर छ तराई र डुवर्स। के श्यामल सेन पहाड, तराई र डुवर्सका जनताको आँखामा फ्यॉंकिएको धुलो भएनन्‌ त?

एउटा कथा छ-
     छोराले आमालाई 1 रुपियॉं माग्छ। चलाक आमा भन्छिन्‌, ‘एक रुपियॉं? के को आठाना, छैन चाराना, ला दस पैसा, पॉंच पैसा खा पॉंच पैसा फर्का।’ ममता व्यानर्जी विमल गुरूङको निम्ति त्यही आमा थिइन्‌। मोर्चाले मागेको थियो तराई डुवर्सको 396 मौजा। आशा गरेको थियो 150 मौजा। पायो 5 मौजा।
    19 जुलाई 2013 को दिन विमल गुरूङले भनेका थिए, ‘यदि डुवर्समा नै मेरो अन्तिम सास जानुपर्छ भन्ने भगवानले सोचेको छ भने मलाई कुनै अफसोस छैन।’ तिनले यसो भन्दा रोङ्‌गो, गैरीबास, दलगाउँ, कुमानी, कुमाई सामसिङका खसीहरू खोरखोरबाट सकिसकेको थियो। केही दिन अघि फेरि सिब्सुमा दुई थोपा आँशु चुहाएर विमल गुरूङ भन्छन्‌, ‘डुवर्स हाम्रो मुटु हो।’ 
सुन्दा सुन्दर लाग्ने यो वाक्य वास्तवमा विमल गुरूङको आफ्नै मुटुबाट निस्किएको होइन। किन भने तिनी जीटीएका प्रमुख हुन्‌, जुन जीटीएमा सिब्सु पर्दैन। तराई डुवर्स पर्दैन। गोर्खाल्याण्डको निम्ति आन्दोलनमा उत्रने त्यहॉंका जनता पर्दैन। निता, विमला, बिकि, प्रमिला र अकबरहरूको रगतले बनिएको जीटीएमसम्म डुवर्सका जनताको सपना पुग्दैन। जीटीएबाट निस्किएको मही पनि विमल गुरूङ खान्छन्‌, दही पनि र घिउ पनि। डुवर्सले केही पाउँदैनन्‌। मह पनि विमल गुरूङले काटेका हुन्‌ हात पनि तिनी नै चाट्‌छन्‌। तीनवर्षसम्म आफै काड्‌दै हात चाट्‌दै गरेका विमल गुरूङले सिब्सुमा दुई थोपा  गोहीको आँशु चुहॉंउदै भनेको ‘डुवर्स हाम्रो मुटु हो’ को के अर्थ निस्किन्छ?
  
  24 मई 2012 को दिन नै कोलकातामा विमल गुरूङले डुवर्स र तराई छोडेका हुन्‌। ‘हाइपावर कमिटीले जस्तो रिपोर्ट निकाल्छ, त्यसलाई म मान्छु,’ तिनले कोलाकातालाई यसो भनेर फर्किएका हुन्‌। तिनले यसो भनेपछि नै जीटीएमा तराई डुवर्स पस्ला र मुख मिठ्याउन पाइएला भनेर आदिवासी विकास परिषद छोड्‌ने जोन बारलाको हरिबिजोग भएको हो। जोन बारलालाई भनिएको थियो, ‘जीटीए भएपछि जीटीए सभाले एउटा बैठक गर्नेछ, जहॉं जीटीएको नाम परिवर्तन गरेर जीएटीए( गोर्खाल्याण्ड-आदिवासी टेरिटोरिरयल एडमिनिस्ट्रेसन) बनाउनेछ।’

यता जीटीए बनियो उता जोन बारलाको पत्ता साप भयो।
    जनतालाई विमल गुरूङले सही कुरा भनेनन्‌। ‘तराई र डुवर्स बिना जीटीए चुनाउको कल्पना समेत नगरे हुन्छ,’ 18 मार्चको दिन मङ्‌पूबाट तिनले यसो भने, ‘जीटीए थापेको नै सिमानाको निम्ति हो।’ मईमा कोलकाता पुगेपछि जीटीए थापेको नै दार्जीलिङको तीन महकुमाको निम्ति भयो। खै त तिनको बचनमा प्रतिबद्धता? खै त जनताको सपनाको कदर? जीटीए थापेको नै सिमानाको निम्ति हो? त्यसो हो भने अहिले फेरि कुन सिमानाको कुरा गरिरहेका हुन्‌ विमल गुरूङले? जीटीएले सिमाना स्पष्ट पारिसकिएको होइन र? विमल गुरूङ चौकीमा बसेर शहीदको रगत पिइरहेको के सचेतहरूले देखिरहेका छैनन्‌ र?
गोर्खाल्याण्डको निम्ति आएको नेता विमल गुरूङ जीटीएको निम्ति भए।
     शुरुमा त चुनाउ लडि्‌दन भने। तर आफूलाई जीटीएको प्रमुख हुनु थियो। कुटनैतिक शिक्षा लिन  भातृ सङ्‌गठनहरूलाई कोलकाता पठाएपछि तिनलाई भातृ सङ्‌गठनहरूको दवाब आयो। अहिले तिनी जीटीएको चिफ छन्‌। तीनवर्ष भइसक्यो जीटीएबाट घिउ खाएको। अझ खानु छ। तर केन्द्रिय सत्ताले तिनलाई सजिलोसित दार्जीलिङमा बस्न दिनेवाला छैन। भाजपा चहान्छ, बङ्गालमा भाजपाको सरकार। यसको निम्ति जति पनि विधानसभा क्षेत्र छ, जम्मैमा भाजपाको फोकस छ। विमल गुरूङले डुवर्समा चुहाएको दुई थोपा आँशु विधानसभा चुनाउको व्यालेट बक्समा खस्नुपर्छ। यसकारण विमल गुरूङलाई अचानक तराई डुवर्सको सम्झना आइरहेको छ किन भने विधानसभा चुनाउ नजिक आयो।
  
   ‘छुट्टै राज्य गठन गर्न ममताको सरकार चहॉंदैन,’ भाजपाका दार्जीलिङ सासंद एसएस हलुवालियाले केन्द्रमा भाजपा सरकार आएपछि भने, ‘बङ्‌गालमा हाम्रो सरकार आयो भने हामी यो मुद्दामा काम गर्न सक्छौँ।’ गोर्खा जनमुक्ति मोर्चाको दिमाग यही डायलगले सड्‌केको हो। मोर्चालाई लाग्छ, बङ्‌गालमा भाजपा आयो भने छुट्टै राज्य हुनसक्छ। ‘पानी र फूल लिएर बङ्‌गाल सरकारलाई श्राप दिएको थिएँ, अहिले वाममोर्चाको हालत यस्तो भयो,’ बिमल गुरूङ भन्छन्‌, ‘अब यही श्राप तृणमूल कंग्रेसलाई पनि दिने बेला आयो।’ 
      विमल गुरूङले यो दिक्षा इन्द्रेस कुमारबाट पाएको होइन र?
    विमल गुरूङको राजनैतिक चेतनाको विकास भाजपा र आरएसएसले गरिरहेको छ। 15 जनवरीको दिन इन्द्रेस कुमारलाई अघिल्तिर पाउँदा विमल गुरूङलाई गोर्खाल्याण्डको ‘ट्रेलर’ नै बनिएको लाग्यो। यसको नायक चॉंही इन्द्रेस कुमार। 

    त्यही नायकले विमल गुरूङलाई कुटनैतिकरूपमा दिक्षित गरेपछि तिनले तराई डुवर्सलाई गोर्खाल्याण्डभित्र गाभ्न जुन कमिटी बनाएको छ, यसलाई हेर्दा लाग्छ विधानसभा चुनाउको निम्ति यो कमिटीले तराई र डुवर्सका जनतालाई भोट माग्ने लाइसेन्स प्राप्त गरिसकेको छ। कमिटीले  गोर्खाल्याण्डको सिनो देखाएर कति भोट बटुल्छ, यो भविष्यको कुरा हो। तर फेरि पनि तराई र डुवर्सका जनताले ‘हिरोइज्म’ खप्न पर्ने स्थिति निर्माण हुनेछ। के सॉंच्ची नै तराई, डुवर्स जीटीएमा गाभिन्छ?

भाजपाले गोर्खाल्याण्ड दिन्छु भनेको छैन। मोदीले ‘गोर्खाको सपना मेरो पनि हो’ भनेका छन्‌। सपनाको राजनैतिक अर्थ धेरै निस्किन्छ। तर मोर्चालाई के लाग्छ भने, भाजपाले नै छुट्टै राज्य गोर्खाल्याण्ड दिन सक्छ। यस्तो सपना देख्न गणतान्त्रिक भारतमा पाइन्छ। तर काइदासित सपना देख्न जानिएन भने भारतीय गोर्खाहरूको सपनाको हत्यारा उ स्वंय हुने सम्भावना हुन्छ। विमल गुरूङ त्यही भइरहेका छन्‌।

    एउटा कुरा त के हो भने तेलङ्‌गाना बनिँदा राज्य सरकारको हस्तक्षेप अनिवार्य भएन। विमल गुरूङले  अहलुवालिया, इन्द्रेस कुमार र मोदीलाई सोध्नुपर्ने प्रश्न हो, ‘गोर्खाल्याण्डको निम्ति बङ्‌गाल सरकारको हस्तक्षेप पर्छ कि पर्दैन?’ एउटै देशमा फरक फरक ट्रिटमेन्ट हुने हो होइन भन्ने कुरामा पक्कापक्की नभई भाजपा र आरएसएसप्रति स्वामिभक्ति देखाउनु वा अन्धोभक्त हुनु गोर्खाल्याण्डको सवालमा खतरनाक कुरा हो। ‘बङ्‌गालमा भाजपाको सरकार आएपछि भाजपाले बहुसङ्‌ख्यकहरूको पक्षमा सत्ता निर्माण गर्ने हो कि अल्पसंख्यकहरूको पक्षमा?,’ यो प्रश्न विमल गुरूङले इन्द्रेस कुमारलाई सोध्नुपर्ने प्रश्न हो।

त्यसै पनि सचेत जनता र युवा पुस्ताले यसरी प्रश्नहरू तयार राखेका छन्‌,-
 1. दार्जीलिङलाई राज्यको मुकुट मान्ने, सुनको अन्डा दिने हॉंस मान्ने, सम्पति मान्ने बङ्‌गाली माइन्डसेट तोड्‌ने इन्द्रेस कुमारको कल्चरल एक्टिभिजन बङ्‌गालमा काम लाग्छ कि लाग्दैन?
2. वर्चस्वको राजनीति गरिरहेको भाजपाले दार्जीलिङको तीनवटा महकुमालाई राज्य बनाउँदा राज्य बनाउन चाहिने बङ्‌गालभरिको भोटको माया गर्छ कि गर्दैन?
3. गोर्खाल्याण्ड राज्य गठन गर्ने हो भने किन अहिलेसम्म कुनै पनि प्रकारको परिस्थिति निर्माण गर्ने काम गरिएन?
हजारौँ यस्ता प्रश्नहरू पनि छन्‌, जो अहिले नै गरिहाल्न हतार हुन्छ। पहिले विमल गुरूङको सिब्सुमा खसेको आँशुको राजनैतिक अर्थ र फेरि पनि पहाड र तराई डुवर्सका जनताले लोप्पा खाने हो भन्ने कुरामा मन्थन गर्न अनिवार्य छ। किन भने यसपटक पनि सम्भावना ‘माछा माछा भ्यागुता’ कै हो।

  ‘गोर्खाल्याण्ड मुद्दा राजनैतिक स्तरमा अघि बढिरहेको छ, यसलाई छोड्‌नु हुँदैन,’ इन्द्रेस कुमारले भनेका छन्‌, ‘यसले यो भन्दा पनि राम्रो व्यवस्था पाउन सक्नेछ।’
    गोर्खाल्याण्डभन्दा पनि राम्रो व्यवस्था भनेको के हो? विमल गुरूङले त बुझेका छन्‌। यसकारण तिनले तराई र डुवर्सलाई ‘मुटु’ भन्ने ‘गोटी वाणी’ छॉंट्‌न थालिसके। प्रिय पाठक, तपाईँले चॉंही बुझ्नु भयो कि भएन त?