Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Feb 2015

निराश छन् विधायक डा. छेत्री

कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः- 
केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ।
उनले काम राम्रै गर्दैछन्
, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका छन्, भइहाल्यो। उनले कोइबेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि
पार्टीप्रमुखले यो प्रतिक्रिया दिएको यतिका दिनपछि पनि न डा हर्कबहादुर छेत्रीले मन दुखाउन छोडेका छन् न पार्टी नेतृत्वले उनीसँग बसेर चित्त माझामाझ गरेको छ। बरू उल्टै पार्टी र डा छेत्रीको सम्बन्ध 36को आकडामा परिणत हुने क्रममा छ। भोलि शुक्रबार बिधानसभाको बजट अधिवेशनमा भाग लिन कलकता हुइँकिने चटारोमा रहेका डा हर्कबहादुर छेत्रीसँग दस मिनटको छोटो कुराकानीमा पनि यति कुरा बुझ्न गारो भएन। उनीसहित पहाडका तीनजना विधायकहरू भोलि हुने बजेट अधिवेशनको सत्रमा भाग लिन जादैछन्। तर पहाडको हक-हित र सरोकारका कुन कुन मुद्दा र समस्याहरू उठान गर्ने भन्नेबारे उनीहरूलाई न पार्टीले निर्देश दिएको छ न जीटीएले फिडब्याक नै दिएको छ। डा हर्कबहादुर छेत्रीले त झन मोर्चाको दार्जीलिङकेन्द्रित नेतृत्वसँग बसेर पार्टी र मुद्दाहरूबारे छलफल नगरेको नै धेरै भइसकेको छ। बरू उनलाई पार्टीसम्म आफ्नो कुरा पुर्‍याउन मिडीया सहज माध्यम बनेको छ। पार्टी नेतृत्वलाई सोझै भन्न नसकेका कुराहरूले उनले मिडियाबाट छिराएर भन्ने गरेको कुरा पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाई पनि थाहा भइसकेको छ। पहाडका तीनैजना विधायकहरू जीटीएका एक्स अफिसियो मेम्बरहरू हुन्। तर जीटीएको बैठक कहिले हुन्छ र केके कुराहरू पारित हुन्छन भन्ने कुरा आधिकारिक रूपले डा हर्कबहादुर छेत्रीलाई थाहा हुँदैन। “बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन। “त्यही दार्जीलिङमा बस्ने त्रिलोक देवानलाई जीटीएको बैठकमा कहिले बोलाइँदैन, मेरो के कुरा”  डा छेत्रीले भने। जहिले भेट्दा पनि कलकता हिडँन हतारिरहेका डा छेत्रीलाई अहिले बरू दार्जीलिङभन्दा कलकता नै नजिक लाग्न थालेको जस्तो भान हुन्छ। आज पनि उनी कालेबुङमा सम्पन्न एउटा साहित्यिक कार्यक्रममा दुइघण्टाको निम्ति सहभागी हुन आइपुगेका थिए। बुधबार सम्पन्न विधानसभा सत्रमा राज्यपालको भाषण सुनेर अनि आफ्नो कुरा राखेर बेलुकीको ट्रेन चढेर उनी कालेबुङ आइपुगेका थिए। आज अपरान्ह कार्यक्रम सक्दा नसक्दा उनी कलकताका निम्ति प्रस्थान पनि भइसकेका थिए। पार्टीले उनीसँग किन दूरत्व बनाउन थालेको छ? के उनको कलकतामोह पार्टीलाई मन नपरेको हो कि पार्टीभित्र उनको उपयोगिता समाप्त भएकै हो? मोर्चा नेतृत्व र डा हर्कबहदुर छेत्री, दुवै शिविरबाट समय समयमा आउने विरोधाभाषपूर्ण बयानले यतिबेला प्रश्नहरू सतहमा उठेर आउनु स्वभाविक देखिन्छ। शुरुका दिनमा डा हर्कबहादुर छेत्रीको उपयोगिता पार्टीभित्र कतिसम्म थियो भने बिमल गुरूङसमेत उनको कुशाग्र बौद्धिक क्षमता, वाकपटुता र तार्किकतासँग प्रभावित थिए। पार्टीको हरेक साना ठूला गल्ती र कमजोरीहरूलाई पनि उनी आफ्नो बेजोड तर्कशक्ति र वाटपटुताको भरमा ढाकछोप गर्थे। मोर्चा अध्यक्षले उनको यो गुणको सराहना गर्दै कालेबुङको एउटा कर्यक्रममा सार्वजनिक रूपमै भनेका पनि थिए, “डा हर्कबहादुर छेत्री पार्टीका लागि ढकनी हुन्” तर विधानसभा चुनाउ जितेर कलकता पुगेपछि उनको यो ढकनीको अवतार उघ्रेको देखिन्छ। आफ्नो बौद्धिकता र ज्ञानगुणका कारण उनी एकातिर कलकताको राजनैतिक समाजसँग नजिकिँदै गएका छन् भने अर्कोतिर आफ्नै दलबाट काटिँदै पनि गइरहेका छन। मुख्यमञ्त्री ममता व्यानर्जीसँगसमेत उनको सम्बन्ध यति नजिकिन पुग्यो कि कालेबुङको भ्रमणमा आउँदा मुख्यमञ्त्रीले डा छेत्रीको हिलटपस्थित आवासको चोठाकोठा नै चहारेर फर्किन। यो घटनाले उनलाई लिएर पार्टीभित्र राम्रो सन्देश जान सकेन। विधायक भएको केही महिना पछि उनलाई राज्य सरकारले सेरिकल्चर निदेशालयको महत्वपूर्ण पदमा राख्ने प्रस्ताव पनि दिएको थियो तर पार्टीको नेतृत्व पंक्तिले प्रस्ताव खारेज गरेपछि उनले यति प्रतिष्ठित पद गुमाउनु परेको थियो। उनी र पार्टीबीच अहिले देखा परेको दूरत्वको आरम्भिक चरणको बिन्दुको सूत्रपात यहीबाट भएको थियो। त्यसपछि पछिल्ला चरणमा त्रिपक्षीय अनि द्विपक्षीय वार्ताहरूमा उनलाई सामेल गरिएको देखिँदैन।
बुधबार सम्पन्न बिधानसभाको सत्रमा पनि उनी कालेबुङलाई जिल्लाको मर्यादा प्रदान गरिनु पर्ने कुराको वकालती गरिरहेका थिए। राज्यपालले आफ्नो अभिभाषणको क्रममा अलिपुरद्वारलाई नयाँ जिल्लाको दर्जा दिइएको सन्दर्भ झिकेपछि आफ्नो बोल्ने पालो आएपछि डा छेत्रीले कालेबुङलाई पनि नयाँ जिल्लाको दर्जा दिनु पर्ने मुद्दा विधानसभामा उठाएका थिए। उनले कालेबुङलाई किन जिल्लाको दर्जा दिइनुपर्छ भन्ने तथ्यपरक तर्कहरू सारेका थिए। कालेबुङको जनप्रतिनिधिको हैसियतमा उनले उठाएको यो मुद्दा जनमुखी र सापेक्षित हुनैसक्छ तर यो मुद्दाले पनि उनलाई अझै पार्टीको किनारीकरणको नीतिको शिकार हुनु पर्ने देखिन्छ। विधायकको रूपमा उनले उठाएको यो मुद्दा आफ्नो ठाउँमा सही भए पनि मोर्चाले पार्टीको नीतिगत तहमा कालेबुङलाई जिल्ला बनाउनु पर्ने कुरालाई स्पष्ट रूपमा कहिले उठाएको छैन। यस्तो स्थितिमा पार्टीसँग उनको भुलबुझाइ र दूरत्व मेटिनुका साटो अझै बढेर जाने सम्भावना चुलिएको छ।

Related Posts:

  • पत्रकारितामाथि मोर्चाको हस्तक्षेप कालेबुङ, 15 अप्रेल। पहाडमा गणतन्त्र रहेको घोषणा गर्ने गोर्खा जनमुक्ति मोर्चाले कालेबुङको एक निर्भिक र स्वच्छ पत्रकारिता गर्ने हिमालयन पिपल्स च्यानल(एचपीसी)को प्रसारणमा रोक लगाएको घटना प्रकाशमा आएको छ। एचपीसी का निदेशक सन्दिप … Read More
  • च्यानल बन्द प्रती टीएमसीको प्रतिवाद कालेबुङ 17अप्रेल। कालेबुङको क्यबल समाचार च्यानल एचपीसीको प्रसारणमा मोर्चाद्वारा कथित रोक लगाइएको खबर प्रकाशमा आएपछि हिल तृणमूलका नेतृत्वले घटनाको तीव्र प्रतिवाद जनाएका छन। हिल तृणमूलका नेताहरु प्रवीण रहपाल अनि ननिता गौतमले आज… Read More
  • Barla duo join Didi, tie-up in doubtApril 17: The Trinamul Congress’s sustained campaign in the Dooars and Terai has snared two John Barla loyalists who have added to the steady stream of leaders drifting to the ruling party from the Gorkha Janmukti Morcha and … Read More
  • Ghisingh spent force: Gurung - Morcha chief’s barb comes on day GNLF announces revival of hill committees Darjeeling, April 18: Bimal Gurung today called Subash Ghisingh a “spent force” in the hills, hours after the ousted hill leader’s party GNLF said it would be revive its branch committees soon. It is not known whether Gurung… Read More
  • GTA demands on president tableA team of the GTA, led by Bimal Gurung, met the President and submitted a three-point memorandum, which demanded the setting up of a central university, transfer of reserved forest areas to the GTA and a tripartite meeting wi… Read More

0 comments: