Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

25 Jun 2015

नेपाल भुकम्प पीडितको लागी सङ्गीत

कालेबुङ, 23 जुन। (प्रदीप)ः-
78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलको दर्शकदीर्घमा केहीबेर थप्पडीको आवाज गुञ्जयमान भएको थियो।
यो उमेरमा पनि आफ्ना प्रशंसकहरूलाई निराश नपार्ने उर्जावान गायिका अरू कोही नभएर सुश्री शान्ति ठटाल थिइन्। कालेबुङका कलाकर्मीहरूको समूह फ्रेण्ड्स् फर सोसियल कन्सर्नले नेपालको भुइँचालो पिडीतहरूको निम्ति अर्थसहयोग जुटाउन आयोजना गरेको सांगीतिक कार्यक्रम ‘मेलोडी फर रिमेडी’-मा गीत प्रस्तुत गर्न शनिबार साँझ नै दार्जीलिङबाट आइपुगेकी थिइन्। उनी दशकौंपछि कालेबुङमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी बनेकी थिइन्। आफ्ना जमानाकी एक लोकप्रिय गायिकालाई यतिका बर्षपछि सुन्न र हेर्न टाउनहलमा धेरै संख्यामा पाका मानिसहरूको उपस्थिति थियो तर उनका कालजयी गीतहरूले युवा पुस्ताका दर्शक-श्रोताहरू पनि मञ्त्रमुग्ध नभइ रहन सकेनन्। सुश्री ठटालले यस दिन सम्हालेर राख, आँधीहुरीले, मायाले सम्झ्यो कि कसोलगायतका गीतहरू गाएर आफ्ना प्रशंसकहरूलाई मुग्ध पारेकी थिइन्। उनलाई आयोजन समितिले प्रशस्तिपत्र प्रदान गरी अभिनन्दन पनि जनाएको थियो। नेपालका भुइँचालोपिडीतहरूको निम्ति कालेबुङका कलाकर्मीहरूको तर्फबाट पनि सहयोग गर्न यो कार्यक्रमको आयोजना गरिएको थियो। साहित्य, संगीत, पत्रकारिता, नाटक र सिनेमा क्षेत्रसँग जोडिएका मानिसहरूको तत्परतामा आयोजित कार्यक्रमको मूल उद्देश्य नेपालका भुइँचालो पिडीतहरूलाई सहयोग गर्ने रहेको भए पनि यसले अरू उद्देश्यहरूको पनि परिपूर्ति गरेको थियो। कार्यक्रममा सुश्री शान्ति ठटाललगायत डूवर्सको बाणी व्याण्ड अनि गायक पुष्पण प्रधान, काठमाण्डौबाट गायिका झुमा लिम्बु पनि कलाकर्मीहरूको यो सदिच्छालाई सहयोग पुर्‍याउन सहभागी थिए।
दुवै गायिकाहरूलाई दार्जीलिङका संगीतकार जीवनप्रकाश प्रधानको टोलीले साथ दिएका थिए। आयोजक कलाकर्मीहरूको उद्देश्य भुइँचालोपिडीतहरूको सहयोगसितै दुइपुस्ताका गायक-गायिका अनि गीतसंगीतकारहरूबीच सहकार्य, भारत-नेपालबीच संगीतिक विनियमलगायत बाणी व्याण्डका प्रतिभाशाली गायक पुष्पण प्रधान विशिष्ट गीतसंगीतको रस कालेबुङे संगीतप्रेमीहरूलाई आस्वादन गराउनु पनि थियो। संगीतकार अम्बर गुरूङको छत्रछायाँमा रहेर नेपाली संगीतजगतमा ख्याति कमाइरहेकी झुमा लिम्बुले पनि अर्थपोर्ण गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई आनन्दित तुल्याएकी थिइन। पहिलोपल्ट भारतेली नेपाली संगीतश्रोताहरूलाई आफ्नो गीत सुनाइरहेकी झुमालाई पनि आयोजकहरूले कदरपत्र प्रदान गरि सम्मान जनाएका थिए। यस अवसरमा डूवर्सको बाणी व्याण्ड अनि यसका गायक पुष्पण प्रधानको प्रस्तुति बेजोड थियो।
आफ्ना अनि अरूका गरी उनले झण्डै एक दर्जन गीत गाएका थिए। फत्तेमान राजभण्डारीको मर्न बरू गारो हुन्नबाट शुरु गरेर मनोज बोगटीको शब्द र आफ्नै संगीत रहेको ‘ए बूढा बा! यो त मेरो समय हो’ भन्ने अन्तिम गीत गाएर लगभग दुइ घण्टासम्म श्रोताहरूलाई बाँधेर राख्न उनी सफल भएका थिए। दर्शकश्रोताहरूसँग सम्वाद गर्दै गीत प्रस्तुत गर्ने शैलीले पनि उनलाई यस दिन धेरै रूचाइएको थियो। नेपालीसंगीतमा सुफीसंगीतको स्वाद दिने उनको गीत र गायिकीप्रति विशेष गरी युवापुस्ताका श्रोताहरू मोहित भएका थिए। पुष्पणको बेजोड प्रस्तुतिले मुध भएका संगीतकार जीवनप्रकाश प्रधानले कार्यक्रमबीच नै आफ्नो रेकर्डिङ स्टुडियो रिदमको तर्फबाट बाणी व्याण्डको एउटा एल्बम निकाल्ने घोषणा पनि गरेका थिए। यो कार्यक्रमको अर्को विशेष आकर्षण थियो नाटक भानु र पाला। यही नाटकको भाग एक र दुइले चर्चा र लोकप्रियता कमाएका कलाकार ललित गोलेले आफ्नै निर्देशनाअ तयार पारेको भानु र पाला नाटकले दर्शकहरूलाई प्रहसन मात्र प्रदान गरेको थियो तर हालमा सामाजिक अनि राजनैतिक विसंगतिहरूप्रति कलात्मक प्रहार पनि गरेको थियो। उनले यस दिन अगावै प्रदर्शन भइसकेको भानु र पालाको भाग एक अनि दुइसहित तयारीमा रहेको भाग तीनका केही अंशहरूको सम्मिश्रण प्रस्तुत गरेका थिए। गोलेलाई यो नाटकमा महेन्द्र बागदास, मदन भुजेल, बिक्रम पराजुली आदि कलाकारहरूले साथ दिएका थिए।
यो कार्यक्रममा कालेबुङका युवाव्यवसायी सोनाम याक्खा प्रमुख अतिथि थिए भने युवाकवि गगण राई बिशेष अतिह्ति थिए। दुवै अतिथिहरूको बाहुलीबाट कलाकारहरू शान्ति ठटाल, झुमा लिम्बु अनि पुष्पण प्रदानलाई अंगवस्त्र ओडाएर अभिनन्दन गर्ने कार्य गरिएको थियो। दुवैले भुइँचालो पिडीतहरूको सहयोगको निम्ति व्यक्तिगत तर्फबाट राम्रो रकम पनि प्रदान गरेका थिए।

9 Mar 2015

विपक्षी दलहरूको भुमिका के?

कालेबुङ, 3 मार्च (प्रदीप लोहागुण)-
दार्जीलिङ पहाडको ताजा राजनैतिक परिस्थितिमा यहाँका विपक्षीहरूलाई कसैले नसोधेको एउटा खरो प्रश्न छ, “विपक्षी दलहरूको भुमिका के?”
पहाडका विपक्षी दलहरूले विरोधको लागि मात्र विरोध गरिरहेका छन् कि रचनात्मक राजनीति पनि गरिरहेका छन? यहाँका विपक्षी दलहरूले गोर्खाल्याण्डको सवालमा गोजमुमोको खोइरो मात्र खनिरहने कि आफ्ना रणनीति तय गरेर लक्ष्यप्राप्तिको दिशामा अघि पनि बढ्ने हुन्? यतिबेला यस्ता तमाम प्रश्नहरू बहसको सतहमा उठाइनु स्वाभाविक मात्र होइन सापेक्षित पनि देखिन्छ। गोजमुमोले जीटीए ग्रहण गरेपछि बकाइदा चुनाउ जितेर यो दल जीटीएको सत्तामा पुगेको हो। यस हिसाबले हेर्ने हो भने गोजमुमो पहाडको राजनीतिको सत्तासिन दल हो अनि यहाँ भएका तमाम ठूला साना दलहरू आफूलाई विपक्षी दल भन्न रूचाउँछन्। तर तिनका राजनीति गर्ने कार्यनीति र रणनीति हेर्दा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो देखिन्छ।
पहाडका विपक्षी दलका रूपमा क्रामाकपा, गोरामुमो, गोर्खालीग, गोरानिमोजस्ता राजनैतिक दलहरू देखिन्छ भने भागोप, डीडीयुडीएफजस्ता गैर राजनैतिक संस्थाहरूले पनि गोर्खाल्याण्डको सवालमा मोर्चासँग विरोधिता राखेको देखिन्छ। यीबाहेक राष्ट्रीय दलहरू भाजपा, तृणमूल कङ्ग्रेस र राष्ट्रीय कङ्ग्रेसको पहाडी एकाईले पनि गोर्खाल्याण्डबाहेकका मुद्दाहरूमा विपक्षीको स्थान लिन रूचाएको देखिन्छ। तर दार्जीलिङ पहाडको राजनीतिमा आफ्नो अस्तित्वको दावी गर्ने यी दलहरूले के साँचो अर्थमा विपक्षीको भुमिका निर्वाह गरिरहेका छन् त भन्ने सवालमा सबै दलका नेतृत्वले आत्मचिन्तन गर्नु पर्ने देखिन्छ। गोर्खाल्याण्डको निम्ति भनेर माकपाबाट छुटेर आएको क्रामाकपा गोरामुमो पहाडमा सत्तासिन हुँदैदेखि बिपक्षीको चौकी ओगटेर बसेको छ। वर्गीय मुक्तिको संघर्षलाई जातीय मुक्तिको सवालसमेत मानेर अस्तित्वमा आएको क्रामाकपाले गोरामुमोदेखि गोजमुमोको शासनकालसम्म आइपुग्दा दह्रो विपक्षी भनिमाग्ने आफ्नो बचेखुचेको सम्मान र शक्ति पनि हराउँदै गइरहेको छ। छैटौँ अनुसूचीको मुद्दामा अडिग रहेको गोरामुमो आफ्ना नेता सुवास घिसिङको निधन पछि अहिले आफै नेतृत्व संकटसँग जुझिरहेको छ। गोर्खालीगको अवस्था सबैभन्दा निरीह र शोचनीय छ। सांगठनिक संरचना र शक्तिको दृष्टिले धरासायी भइसकेको यो दलले मदन तामाङ जीवित हुञ्जेल पहाडको राजनीतिमा विपक्षी दल भन्न सकिनेसम्मका कामहरू गर्ने गर्थ्यो। कालेबुङमा कार्यालय राखेर गठन भएको  गोरानिमोबारे त पहाडका धेरै मानिसहरूलाई जानकारी पनि छैन। विपक्षी दलहरूको यस्तो निरीह र दूर्बल अवस्थामा सत्तासिन दलले मनमानी नगरेर के गर्छ? सत्तासिन दलले गर्ने मनमानी, भ्रष्टचार, कुशासन र राजनैतिक मुल्यहीनताको निम्ति के उ मात्र दोषी छ कि विपक्षी भनिमाग्ने दलहरू पनि यसको लागि जिम्मेवार छ? आफूलाई जिम्मेवार राजनैतिक दल मान्ने पार्टीका नेताहरूले यतिबेला इमानदारीसँग यी सवालहरूबारे मन्थन गर्नु पर्ने देखिन्छ।

आफै पनि यस्ता तमाम प्रश्नहरूको घेरोमा परेका भागोपका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधान अनि डीडीयुडीएफका संस्थापक डा महेन्द्र पी लामा स्वीकार्छन, पहाडमा विपक्षीहरूको भुमिका निराशाजनक छ। “निराशाजनक नभएको भए पहाडको राजनीतिको यस्तो हालत किन हुन्थ्यो?”  डा महेन्द्र पी लामा स्वीकार्छन्। भागोपका अध्यक्ष डा एनोसदास प्रधानलाई पनि यहाँका दलहरूले रचनात्मक विपक्षीको भुमिका निर्वाह गरिरहेका छन भन्ने पटक्कै लाग्दैन। उनको बुझाइमा यहाँका दलहरू आफ्ना कार्यनीति र रणनीतिमा स्पष्ट छैन। भागोप आफै पनि यसको शिकार भएको उनको स्वीकारोक्ति छ। विपक्षीहरूको मुद्दा एउटै भए पनि कार्यगत तादम्यताको अभावले दह्रो शक्तिको रूपमा स्थापित हुन नसकेको उनको ठम्याइ छ। “भागोप आफै पनि स्पष्ट भएर अघि बढ्न सकेको छैन।कहिले क्षेत्रिय मुद्दामा बोलेन भन्ने आरोप लाग्छ, बोल्यो भने फेरि राष्ट्रीय संगठनले क्षेत्रिय मुद्दामा बोल्छ भनेर दोष लगाउनेहरू छन। भागोपको स्थिति पनि डावाडोल छ” डा प्रधानले भने। उनी ठान्छन, पहाडका दलहरूसँग गोर्खाल्याण्डको मुद्दालाई लिएर स्पष्ट रोडम्यापसम्म छैन। उनलाई लाग्छ, क्रामाकपा पनि स्पष्ट रोडम्यापसँग कहिले अघि आएको छैन, गोर्खालीग आफै अस्तित्वमा छ कि छैन, उनलाई शंका छ। “मोर्चा दिल्ली जाँदा मात्र कराएर भएन। विपक्षीहरू एकमञ्चमा आएर संगठित हिसाबले लड्यौँ भने मात्र केही परिवर्तनको आशा गर्न सकिन्छ” डा एनोसदास प्रधानले भने।
यता, डीडीयुडीएफका संस्थापक डा महेन्द्र पी लामा विपक्षी दलहरूसँग राजनैतिक दूरदृष्टिको कमी रहेको बताउँछन्। राजनीतिमा तत्कालिक र दीर्घमियादी मुद्दाहरूको निर्धारण गरेर रणनीति तय गर्नु पर्ने बताउँदै डा लामाले भने, “विपक्षी दलका साथीहरूले तत्कालिक मुद्दाहरूलाई मात्र धेरै फोकस गर्ने गरेका छन। दीर्घमियादी रणनीति र दूरदृष्टि राखेर काम गर्न सकेका छैन। जसको परिणामको रूपमा विपक्षी दलहरूले निर्वाह गर्नु पर्ने जिम्मेवारी र भुमिकाको पालना हुन सकेको छैन”
उनी पनि विपक्षी दलहरूले संगठित हिसाबका काम गर्न नसकेको अवस्थालाई नै दार्जीलिङ पहाडको राजनैतिक जटिलताको स्रोत मान्छन। “विपक्षी दलहरूले गर्नु पर्ने काममा ताकत नै लगाउँदैनन। बिजेपीले जितेपछि गोर्खाल्याण्डपन्थी सबै दलहरूले केन्द्रमा दबाउको राजनीति गर्नु पर्ने हो। तर जम्मै कुरा गोजमुमोमाथि छोडी दियो अनि यो पार्टीले चै झूठ बोलेर बोलेर हैरान पारिसक्यो” लामाले भने।
अर्कोतिर, क्रामाकपा प्रवक्ता गोविन्द छेत्री पनि विपक्षी दलहरूको दूर्बल भुमिकालाई आत्मसात गर्छन। तर यसको निम्ति सत्तासिन दल नै दोषी भएको उनको तर्क छ। विपक्षीको रूपमा मुखर भएर अघि आउनसाथ राजनैतिक भिडन्त र हिंसाका घटनाहरू बढेर जाने भएकोले पनि समस्या भएको उनको दाबी छ। ‘कार्यक्रम लिएर सडकमा आउँदा सत्तासिन दलबाटै बाधा हुन्छ। उनीहरूसँग भिडन्तमै जानु पर्ने हुन्छ। हामी यस्तो चहाँदैनौ। हामीसँग 86को तितो अनुभव छ” क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने।

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

(दार्जीलिङ पहाडमा मुद्दाहरूको कुनै कमी छैन। हामीसँग मुद्दाहरूको पहाड छ। कहिले हामी गोर्खाल्याण्डको मुद्दा, कहिले छैंटौ अनुसूचीको मुद्दा, कहिले युटीको मुद्दा, विभिन्न मुद्दा मुद्दाहरूमा हामी अल्झिरहेका छौं। यो बीचमा एउटा नयाँ मुद्दा देखा परेको छ, कालेबुङलाई जिल्ला बनाउने मुद्दा। यतिबेला कालेबुङमा विधायक डा हर्कबहादुर छेत्री यो मुद्दा उठाएर प्रशंसा र आलोचनाको केन्द्रमा छन। उनले उठाएको यो मुद्दाबारे स्वर्णभूमि सम्वाददाता प्रदीप लोहागुणले लिएको विशेष अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।)

प्रश्नः तपाईले यो बीचमा कालेबुङलाई जिल्ला बनाइनुपर्छ भन्ने कुरामा पहल गरिरहनु भएको छ। वास्तवमा यो बीचमा कसरी अहिले जिल्लाको मुद्दा आयो?
उत्तरः यो बीचमा अचानक आएको मुद्दा होइन। दुइ बर्ष अघि राइटर्समा एउटा सर्वदलीय बैठक भएको थियो। त्यो बैठकमा दुइवटा प्रस्तावहरू वेष्ट बेङ्गलको नाम परिवर्तन गरि पश्चिम बंग बनाउने अनि अर्को अलिपुरद्वारलाई जिल्ला बनाउने कुरामा सबैको मत जान्ने काम भएको थियो। गोजमुमोबाट महासचिव रोशन गिरी अनि केन्द्रीय समिति सदस्य ज्योति राईसहित मैले पनि सहभागिता जनाएको थिए। बैठकमा रोशन गिरीले राज्यको नाम परिवर्तनको कुरामा कुनै आपत्ति नभएको तर अलिपुरद्वारलाई जिल्ला बनाउने कुरामा भने मोर्चाको विरोधिता रहेको मत जाहेर गरेका थिए। मोर्चाले किन विरोध गरेको थियो भने त्यतिबेला श्यामल सेन कमिटिले डूवर्समा गोर्खाभाषी बहुल क्षेत्रहरूको बारेमा स्थलगत पर्यवेक्षन गर्दै थियो अनि अलिपुरद्वारलाई जिल्ला बनाउने षडयञ्त्र हुनुसक्छ, मोर्चाले माग गरिरहेको मौजाहरू काटेर प्रस्तावित नयाँ जिल्लामा हाल्न सक्छ भन्ने पार्टीको बुझाइ थियो, जुन सारै गलत पनि थिइन। मैले पनि त्यो बैठकमा आफ्नो कुरा राखे। जहाँसम्म जिल्लाको कुरा छ, पार्टीमा पहिलेदेखि यसबारे चर्चा भइरहेको कुरा थियो...........  

प्रश्नः भनेपछि कालेबुङलाई जिल्ला बनाउने कुरा पार्टीको नीतिनिर्माणको तहमा नै तय छ?
उत्तरः यसलाई यसरी हेरौं न, उनीहरूले (पार्टीले) स्पष्ट रूपले उच्चारण गरेको छैन तर आन्तरिक सूझबूझ के हो भने जति धेरै जिल्ला र महकुमा हुन्छ, जति धेरै खण्डहरू हुन्छ, त्यति नै त्यसलाई राज्य बनाउन सजिलो हुन्छ। मैले त्यो बैठकमा पनि अलिपुरद्वारलाई मात्र नभएर राज्यको 18 वटा जिल्लाको पुनर्अध्ययन गर्न एउटा कमिटि बनाइयोस् भनेको थिएँ। मैले प्रतिनिधित्व गर्ने महकुमा जिल्लाकै सर्वबृहत महकुमा हो र भौगलिक अवस्था, पूर्वाधारहरूको अभावलगायत धेरै कुरालाई हेर्दा कालेबुङलाई जिल्ला बनाउन जरूरी छ भनेर मैले त्यै बैठकमा नै कुरा उठाएको थिएँ। भर्खरै सम्पन्न बजेट सेसनको अघिल्लो दिन राज्यपालको भाषणमा अलिपुरद्वारलाई जिल्ला बनाइएको कुरा सरकारको उपलब्धीको प्रस्तुत गरिएपछि मैले फेरि यो मुद्दाको उठान गरेको हूँ। 


प्रश्नः समग्रमा कुरा गर्ने हो भने जिल्लाको मुद्दालाई लिएर प्रगति के भइरहेको क्ग्ग त?
उत्तरः हुनु त केही भइरहेको छैन। जहाँ कुरा उठाउनु पर्थ्यो, त्यहाँ मैले कुरा उठाएँ। यो विधानसभाले गर्न सक्ने कुरा हो। बंगाल विधानसभाले गोर्खाल्याण्ड दिन सक्दैन तर जिल्लालाई दुइ भाग बनाउन सक्छ। 

प्रश्नः कालेबुङ जिल्ला हुँदा फाइदा के छ?
उत्तरः म त नोक्सान पो एउटै देख्दिनँ। फाइदा त जम्मै फाइदै फाइदै छ। तोदेताङ्ताको मान्छेलाई कालेबुङ आउनु सजिलो कि दार्जीलिङ जानु सजिलो? प्रशासनिक व्यवस्था जति नजिक आयो उति जनतालाई सुविधा हुन्छ नि।

प्रश्नः कालेबुङलाई जिल्ला बनाउँदा यहाँका जनताको अर्थ-सामाजिक जीवनमा पनि सुधार र प्रगति हुन्छ भन्ने लाग्छ तपाईँलाई?
उत्तरः धेरै परिवर्तन आउँछ। अथोरिटी जति टाडो भयो त्यति नै गतिविधि कम्ती हुन्छ। अफिसियल्ली पाइने सुविधाहरू कति मान्छेलाई त थाहा त हुदैँन। अफिस नजिक आउँदा त्यहाँ के के पाइन्छ भन्ने कुरा सजिलोसँग जान्न सकिन्छ। सरकारी अधिकारीहरू जैले पनि आँखाको अगाडी हुन्छन। कुनै पनि काम किन गरिनस् भनेर कान समात्न सकिन्छ। 


प्रश्नः तपाईँ कालेबुङको जनप्रतिनिधिको हैसियतमा कुरा त राम्रो उठाइरहनु भएको छ, जनताले मन पनि पराइरहेका छन यो कुरालाई, तर मोर्चाले नीतिगत रूपमा कहिले कालेबुङलाई जिल्ला बनाउने कुराको उठान गरेको छैन, मुखर रूपमा कहिले भनेको छैन। पछिलो चरणमा हेर्ने हो भने तपाईँ पार्टीदेखि कता कता टाडो बस्नु भएको हो कि जस्तो पनि देखिएको छ। यो अवस्थामा तपाईँलाई यो मुद्दालाई अघि बढाउनु अलिक चुनौतिपूर्ण लाग्दैन र?
उत्तरः अब राजनीतिमा चुनौति नै छैन भने त क्लरिकल काम गर्दा भइ हाल्यो नि। त्यो चुनौति छ र नै त मजा आएको हो नि। 

प्रश्नः तर पार्टीभित्रै पनि त चुनौति छ नि तपाईँलाई?
उत्तरः मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु। 


प्रश्नः भने पछि यो मुद्दालाई लिएर पार्टीको नेतृत्व तहमा पनि केही छलफल भइरहेको छ तपाईँको?
उत्तरः अहिले त मेरो कसैसँग यसबारे आलोचना भएको छैन। विधानसभाका सत्रमा नियमित उपस्थित हुनु परेकोले अलि व्यस्त पनि भइराखेको छु तर कालेबुङको विधायकको हैसियतले यो मेरो जिम्मेवारे हो। मलाई जे कुरा ठिक हो जस्तो लाग्छ, त्यो कुरा मैले उपयुक्त ठाउँमा उठाउनु पर्छ। अहिलेसम्म कसैले मलाई यो कुरा किन उठाइस् भनेर प्रश्न गरेको छैन। प्रश्न गरेछ भने पनि एक हजार एक उत्तर छ मसँग। कसैले चैँ अर्को पाँच बर्षको निम्ति हर्कबहादुरले नयाँ मुद्दा निकालेको पो हो कि भन्ने सोच बनाएका होलान तर मैले पहिले नै पत्रकार सम्मेलन गरेर अर्कोपालि म उठ्दिनँ भनीसकेको छु। 

प्रश्नः यस्तो केके त भनिरहनु हुन्छ नि तपाईँ। गोर्खालीगको महासचिव पद छोड्दा पनि त अब म कैले राजनीति गर्दिनँ भन्नु भएको थियो।
उत्तरः त्यो भनिएको पृष्ठभुमि पनि बुझ्नु पर्‍यो नि। अध्यक्षले गरेको निर्णय महासचिवलाई थाहा नहुने। बुझ्न खोज्दा यो माथिल्लो तहको कुरा हो, तिमी बुझ्दैनौ भन्ने जवाफ पाइने। अब महासचिवको पदमा बसेर कुरा बुझ्ने योग्यता ममा छैन भने किन त्यो पदमा बसिरहनु त? त्यही कारण मैले गोर्खालीग छोडेको हूँ। म राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति हो। 


प्रश्नः तपाई अहिले आएर जिल्लाको कुरा गरिरहनु भएको छ।पार्टी पनि जनजातिको मर्यादा, केन्द्रीय विश्वविद्यालयलगायतका खुदरा मुद्दाहरू उठिरहेको छ। यतिखेर मूल मुद्दाको अवस्था चैँ के छ?
उत्तरः यसलाई त यसरी हेर्नू पर्‍यो नि। हामीले सूँडको कुरा गर्दैछौं, खुट्टाको कुरा, कानको कुरा गर्दैछौं तर अन्तमा कुरा त हात्तीकै हो नि। 


प्रश्नः अहिले राज्यको राजनीतिलाई हेर्ने हो भने धेरै आकस्मिक परिवर्तनहरू देखा परिरहेको छ। विशेष रूपले राज्यको सत्तामा बसेको तृणमूल कङ्ग्रेस राजनैतिक संकटमा परेको जस्तो देखिएको छ। यतिबेलाको राज्यको राजनीतिलाई दार्जीलिङ पहाडको राजनीतिसँग जोडेर हेर्दा के देखिरहनु भएको छ तपाईँ?
उत्तरः हाम्रो त अवस्था सिक्किमको जस्तो हो। सिक्किम कैले कुनै पार्टीको विरोधमा जादैन, जुन दलले जितेर केन्द्रमा सरकार बनाउँछ, उसैलाई समर्थन गर्छ। बंगालमा हाम्रो अवस्था कुनै पार्टीलाई विरोध र समर्थन गर्नु भन्ने छैन। हामी इडोलिजीमा आधारित दल होइनौं। जसले गर्दा हामीलाई आइडोलोजिक समस्या पनि हुदैँन। हामीले अहिले चैँ जनतालाई सुविधासम्पन्न गर्ने कार्यलाई नै आइडिलोजी सम्झियौं भने पनि धेरै हो।

बघिनी फेरि पुरानै खोरमा

कालेबुङ, 4 मार्च (प्रदीप लोहागुण)- ‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’  कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला? उत्तर सरल छ, ‘समयले राजनीतिकर्मीलाई एउटा दलबाट अर्को दलमा पुर्‍याउँछ’
  यस्तै भयो हिल तृणमूल नेत्री ननिता गौतमसँग जो तृणमूल छोडेर फेरि मोर्चामै फर्केकी छन्। मोर्चाले 2007मा गोर्खाल्याण्डको आन्दोलन थाल्दा बघिनी पार्टीभित्र र जनमानसमा सशक्त महिला नेतृको रूपमा ननिता गौतम स्थापित भएकी थिइन। गोरामुमो सत्तामा हुँदादेखि नै आफ्नो वागी तेवर र जुझारूपनका निम्ति राजनीतिमा चासो राख्ने एउटा वर्गमा यिनी चिनिदैँ आएकी थिइन।
तिनको यो परिचयले नयाँ फाँट पायो गोजमुमोले शुरु गरेको आन्दोलनमा। दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा ननिता गौतमले यति निर्भिक, जुझारू र समर्पित नेतृको रूपमा मोर्चा सम्हालेकी थिइन कि आफ्ना महिला कार्यकर्ताहरूले तिनलाई बघिनीको संज्ञा समेत दिएका थिए। तिनै बघिनी 28 महिना तृणमूलको घाँसफूल भएको मैदानमा डुलिघुमि फर्केर फेरि पुरानै खोरमा आएकी छिन। गोजमुमोले आन्दोलनलाई शिथिल पारेर जीटीए ग्रहण गरेपछि मोर्चा नेतृत्वसँग तिनको मत बझ्न थालेको थियो। मतभेद चरममा पुगेपछि मोर्चा छोड्ने अन्य नेताहरूसहित ननिता गौतमले पनि 7 अप्रेल 2013मा तृणमूल कङ्ग्रेसमा प्रवेश लिएकी थिइन। उनलाई तृणमूलका तत्कालिन महासचिव मुकुल रायले दलको झण्डा प्रदन गरी पार्टीमा सामेल गरेका थिए। यतिबेला संयोग कस्तो मिलेको छ भने तिनै मुकुल राय पार्टीबाट निकालिएर भाजपामा सामेल हुने तयारीमा छन अनि यता ननिता गौतम तृणमूल छोडेर पुरानै पार्टीमा फर्केकी छन। गोजमुको जस्तो क्षेत्रिय पार्टीको नेतृत्व पङ्तिमा काम गरेकी ननिता गौतमलाई तृणमूल जस्तो राष्ट्रीय ढाँचाको दलमा बसेर काम गर्नु सहज र व्यावहारिक पनि भएन। शुरुमा उनलाई हिल तृणमूलको महिला प्रकोष्ठको अध्यक्षको जिम्मेवारी दिइएको थियो। तर हिल तृणमूलभित्र पनि नेतृत्व र पदको निम्ति हानाहान र तानातान भएपछि दलकी प्रमुख ममता व्यानर्जीले हिल तृणमूललाई  खारेज गरी तदर्थ समितिको गठन गरि दिएकी थिइन जसमा श्रीमती गौतमलाई उपाध्यक्ष बनाइएको थियो। आज मोर्चामा पुनर्प्रवेश लिन कार्यक्रमस्थलमा आफ्ना केही समर्थकहरूसित आउँदा श्रीमती गौतमले केही असहज अनुभव गरिरहेकी थिइन। कार्यक्रम हलभित्र प्रवेश गर्दा तिनलाई स्वागत जनाउने न्यानो अङ्गलोहरूलाई पनि थिए, तिनलाई व्यङ्ग्य कस्ने कुटिल मुस्कानहरू पनि थिए। आज मोर्चामा प्रवेश लिने 219 जना मानिसहरूमध्ये प्रथममा तिनलाई नै मञ्चमा बोलाएर बिमल गुरूङले खदा लगाइ दिए अनि दलको झण्डा प्रदान गरि पार्टीमा लिएको औपचारिकता पूरा गरेका थिए। तर जब आफ्नो मन्तव्य जाहेर गर्न पालो आयो, उनले आफ्नो सहजतामाथि पुरापुरी नियञ्त्रण गरिन, गम्भीर मुद्रामा आफ्ना कुराहरू राख्न शुरु गरिन। पन्द्र बीस मिनट लामो आफ्नो सम्बोधनको अधिकाशं समय उनले गोजमुमो अध्यक्ष र पार्टीका पुराना सहकर्मीहरूलाई आभार  प्रकट गर्न अनि खर्चिन। “उनी अभिभावक हुन, बाबु हुन। उनको ह्रदयमा चोट पुगेको थियो। फेरि हामी सबैलाई समेटेर परिवारमा ल्याए, म धन्यवाद दिन्छु” ननिता गौतमले भनिन।
उनले आफूलाई सफाई दिने शैलीमा थपिन्, “सबैभन्दा ठूलो कुरो समय र परिस्थिति हो। समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ। हामी परिस्थितिका दास हौं। मेरो विवशता र अवस्थाले मलाई यो परिवारबाट टाडो पुर्‍याएको थियो। कसैले मनदुःख गर्नु हुन्न”
दलभित्र कुनै समय प्रभावशाली नेत्रीको रूपमा चिनिएकी ननिता गौतम 28 महिना तृणमूलमा बसेर मोर्चामा फर्केकी हुन। अब उनलाई दलभित्र पुरानै स्थान र मर्यादा पाउँछु भन्ने कुरामा पनि खासै आशा र भरोसा छैन। “म साधारण सदस्य भएर बस्नेछु” उनको यो छोटो उदगारको आसय झण्डै यस्तै बुझिएको थियो। पहाडको विकास र रोजगारका एजेण्डा बिकेर तृणमूलमा गए पनि ह्रदयमा सधैँ गोर्खाल्याण्ड रहेक दावी गर्दै उनले भनिन, “हामी सबै मिलेर हाम्रो आकाङ्क्षालाई अघि लिएर जाऊँ”

ननिता गौतम जस्ती जुझारू नेत्री दल छोडेर जाँदा बिमल गुरूङलाई पनि दुःख त लागेकै थिएछ। गुरूङ आफैले मञ्चमा यसलाई स्वीकार पनि गरे। उनले पनि गीतकै शब्दहरू पैँचो लिएर आफ्नो कुरा राखे, “हे फूल चुडेर लाने हो, यहाँ माली रोएको हेर....। पार्टीलाई यो स्तरसम्म पुर्‍याउन उनको योगदानलाई हामीले भुल्नु हुदैन। पार्टी छोडेर जाँदा हामी एकक्षण रोएका थियौं”
उनले ननिता गौतमलाई दिदी भनेर पनि सम्बोधन गरे अनि दिदीभाइको सम्बन्धलाई पार्टीभन्दा माथि राखेर हेर्ने आग्रह पनि गरे। “पार्टी त आउँछ, जान्छ। सम्बन्ध ठूलो कुरो हो। म सधैँ सम्बन्धहरूप्रति समर्पित छु। मौका मिल्यो भने म ननिता दिदीको हातको भाइटिका लगाउन पनि आउँछु” गुरूङले भने।