Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2015

विपक्षी दलहरूको भुमिका के?

कालेबुङ, 3 मार्च (प्रदीप लोहागुण)-
दार्जीलिङ पहाडको ताजा राजनैतिक परिस्थितिमा यहाँका विपक्षीहरूलाई कसैले नसोधेको एउटा खरो प्रश्न छ, “विपक्षी दलहरूको भुमिका के?”
पहाडका विपक्षी दलहरूले विरोधको लागि मात्र विरोध गरिरहेका छन् कि रचनात्मक राजनीति पनि गरिरहेका छन? यहाँका विपक्षी दलहरूले गोर्खाल्याण्डको सवालमा गोजमुमोको खोइरो मात्र खनिरहने कि आफ्ना रणनीति तय गरेर लक्ष्यप्राप्तिको दिशामा अघि पनि बढ्ने हुन्? यतिबेला यस्ता तमाम प्रश्नहरू बहसको सतहमा उठाइनु स्वाभाविक मात्र होइन सापेक्षित पनि देखिन्छ। गोजमुमोले जीटीए ग्रहण गरेपछि बकाइदा चुनाउ जितेर यो दल जीटीएको सत्तामा पुगेको हो। यस हिसाबले हेर्ने हो भने गोजमुमो पहाडको राजनीतिको सत्तासिन दल हो अनि यहाँ भएका तमाम ठूला साना दलहरू आफूलाई विपक्षी दल भन्न रूचाउँछन्। तर तिनका राजनीति गर्ने कार्यनीति र रणनीति हेर्दा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो देखिन्छ।
पहाडका विपक्षी दलका रूपमा क्रामाकपा, गोरामुमो, गोर्खालीग, गोरानिमोजस्ता राजनैतिक दलहरू देखिन्छ भने भागोप, डीडीयुडीएफजस्ता गैर राजनैतिक संस्थाहरूले पनि गोर्खाल्याण्डको सवालमा मोर्चासँग विरोधिता राखेको देखिन्छ। यीबाहेक राष्ट्रीय दलहरू भाजपा, तृणमूल कङ्ग्रेस र राष्ट्रीय कङ्ग्रेसको पहाडी एकाईले पनि गोर्खाल्याण्डबाहेकका मुद्दाहरूमा विपक्षीको स्थान लिन रूचाएको देखिन्छ। तर दार्जीलिङ पहाडको राजनीतिमा आफ्नो अस्तित्वको दावी गर्ने यी दलहरूले के साँचो अर्थमा विपक्षीको भुमिका निर्वाह गरिरहेका छन् त भन्ने सवालमा सबै दलका नेतृत्वले आत्मचिन्तन गर्नु पर्ने देखिन्छ। गोर्खाल्याण्डको निम्ति भनेर माकपाबाट छुटेर आएको क्रामाकपा गोरामुमो पहाडमा सत्तासिन हुँदैदेखि बिपक्षीको चौकी ओगटेर बसेको छ। वर्गीय मुक्तिको संघर्षलाई जातीय मुक्तिको सवालसमेत मानेर अस्तित्वमा आएको क्रामाकपाले गोरामुमोदेखि गोजमुमोको शासनकालसम्म आइपुग्दा दह्रो विपक्षी भनिमाग्ने आफ्नो बचेखुचेको सम्मान र शक्ति पनि हराउँदै गइरहेको छ। छैटौँ अनुसूचीको मुद्दामा अडिग रहेको गोरामुमो आफ्ना नेता सुवास घिसिङको निधन पछि अहिले आफै नेतृत्व संकटसँग जुझिरहेको छ। गोर्खालीगको अवस्था सबैभन्दा निरीह र शोचनीय छ। सांगठनिक संरचना र शक्तिको दृष्टिले धरासायी भइसकेको यो दलले मदन तामाङ जीवित हुञ्जेल पहाडको राजनीतिमा विपक्षी दल भन्न सकिनेसम्मका कामहरू गर्ने गर्थ्यो। कालेबुङमा कार्यालय राखेर गठन भएको  गोरानिमोबारे त पहाडका धेरै मानिसहरूलाई जानकारी पनि छैन। विपक्षी दलहरूको यस्तो निरीह र दूर्बल अवस्थामा सत्तासिन दलले मनमानी नगरेर के गर्छ? सत्तासिन दलले गर्ने मनमानी, भ्रष्टचार, कुशासन र राजनैतिक मुल्यहीनताको निम्ति के उ मात्र दोषी छ कि विपक्षी भनिमाग्ने दलहरू पनि यसको लागि जिम्मेवार छ? आफूलाई जिम्मेवार राजनैतिक दल मान्ने पार्टीका नेताहरूले यतिबेला इमानदारीसँग यी सवालहरूबारे मन्थन गर्नु पर्ने देखिन्छ।

आफै पनि यस्ता तमाम प्रश्नहरूको घेरोमा परेका भागोपका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधान अनि डीडीयुडीएफका संस्थापक डा महेन्द्र पी लामा स्वीकार्छन, पहाडमा विपक्षीहरूको भुमिका निराशाजनक छ। “निराशाजनक नभएको भए पहाडको राजनीतिको यस्तो हालत किन हुन्थ्यो?”  डा महेन्द्र पी लामा स्वीकार्छन्। भागोपका अध्यक्ष डा एनोसदास प्रधानलाई पनि यहाँका दलहरूले रचनात्मक विपक्षीको भुमिका निर्वाह गरिरहेका छन भन्ने पटक्कै लाग्दैन। उनको बुझाइमा यहाँका दलहरू आफ्ना कार्यनीति र रणनीतिमा स्पष्ट छैन। भागोप आफै पनि यसको शिकार भएको उनको स्वीकारोक्ति छ। विपक्षीहरूको मुद्दा एउटै भए पनि कार्यगत तादम्यताको अभावले दह्रो शक्तिको रूपमा स्थापित हुन नसकेको उनको ठम्याइ छ। “भागोप आफै पनि स्पष्ट भएर अघि बढ्न सकेको छैन।कहिले क्षेत्रिय मुद्दामा बोलेन भन्ने आरोप लाग्छ, बोल्यो भने फेरि राष्ट्रीय संगठनले क्षेत्रिय मुद्दामा बोल्छ भनेर दोष लगाउनेहरू छन। भागोपको स्थिति पनि डावाडोल छ” डा प्रधानले भने। उनी ठान्छन, पहाडका दलहरूसँग गोर्खाल्याण्डको मुद्दालाई लिएर स्पष्ट रोडम्यापसम्म छैन। उनलाई लाग्छ, क्रामाकपा पनि स्पष्ट रोडम्यापसँग कहिले अघि आएको छैन, गोर्खालीग आफै अस्तित्वमा छ कि छैन, उनलाई शंका छ। “मोर्चा दिल्ली जाँदा मात्र कराएर भएन। विपक्षीहरू एकमञ्चमा आएर संगठित हिसाबले लड्यौँ भने मात्र केही परिवर्तनको आशा गर्न सकिन्छ” डा एनोसदास प्रधानले भने।
यता, डीडीयुडीएफका संस्थापक डा महेन्द्र पी लामा विपक्षी दलहरूसँग राजनैतिक दूरदृष्टिको कमी रहेको बताउँछन्। राजनीतिमा तत्कालिक र दीर्घमियादी मुद्दाहरूको निर्धारण गरेर रणनीति तय गर्नु पर्ने बताउँदै डा लामाले भने, “विपक्षी दलका साथीहरूले तत्कालिक मुद्दाहरूलाई मात्र धेरै फोकस गर्ने गरेका छन। दीर्घमियादी रणनीति र दूरदृष्टि राखेर काम गर्न सकेका छैन। जसको परिणामको रूपमा विपक्षी दलहरूले निर्वाह गर्नु पर्ने जिम्मेवारी र भुमिकाको पालना हुन सकेको छैन”
उनी पनि विपक्षी दलहरूले संगठित हिसाबका काम गर्न नसकेको अवस्थालाई नै दार्जीलिङ पहाडको राजनैतिक जटिलताको स्रोत मान्छन। “विपक्षी दलहरूले गर्नु पर्ने काममा ताकत नै लगाउँदैनन। बिजेपीले जितेपछि गोर्खाल्याण्डपन्थी सबै दलहरूले केन्द्रमा दबाउको राजनीति गर्नु पर्ने हो। तर जम्मै कुरा गोजमुमोमाथि छोडी दियो अनि यो पार्टीले चै झूठ बोलेर बोलेर हैरान पारिसक्यो” लामाले भने।
अर्कोतिर, क्रामाकपा प्रवक्ता गोविन्द छेत्री पनि विपक्षी दलहरूको दूर्बल भुमिकालाई आत्मसात गर्छन। तर यसको निम्ति सत्तासिन दल नै दोषी भएको उनको तर्क छ। विपक्षीको रूपमा मुखर भएर अघि आउनसाथ राजनैतिक भिडन्त र हिंसाका घटनाहरू बढेर जाने भएकोले पनि समस्या भएको उनको दाबी छ। ‘कार्यक्रम लिएर सडकमा आउँदा सत्तासिन दलबाटै बाधा हुन्छ। उनीहरूसँग भिडन्तमै जानु पर्ने हुन्छ। हामी यस्तो चहाँदैनौ। हामीसँग 86को तितो अनुभव छ” क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने।

Related Posts:

  • TEN THOUSAND WHISPERS AND NOBODY LISTENING  Anjan Dutt At the onset let me clarify that I have no political agenda and have always refrained from politics, Left or Right. Never walked in rallies except for joining the mourners at the Maidan at 17, when the th… Read More
  • असाह्य नानीहरूका बाबु हुन् "कुनाल" छेवाङ योञ्जन  पहाड़का युवाहरू केवल आधुनिक फेसन अनि शुख-सुविधाहरूमा मात्रै लोभिन्दैनन् भन्ने कुरा कुनाल घतानीले प्रस्ट पारेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। एक कोरी उम्मेर पचाइसकेका कुनालले एकदिन … Read More
  • साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ छेवाङ योञ्जन   Normal 0 false false false EN-GB X-NONE ML "बरू म त जङ्गली बाघको म… Read More
  • Gorkhas need political unity  13 August 2013, New Delhi, C S Thapa Lack of linguistic recognition and regional minority status are bane for their identity. The demand for Gorkhaland, pending since 1907 is not only about identity of Gorkhas but … Read More
  • गोटी वाणी, विधानसभा र भ्यागुता मनोज बोगटी     ‘आगामी चुनाउको निम्ति हिन्दुस्तानमा जुन लहर चलिरहेको छ, त्यसमा दार्जीलिङले पनि काम गर्नुपर्छ,’ आरएसएसका इन्द्रेस कुमारले भने, ‘मलाई विश्वास छ यो दार्जीलिङ, अलिपुरद्वार, जलपाईगुढी, कुचबिहारले … Read More

0 comments: