Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Jun 2015

नेपाल भुकम्प पीडितको लागी सङ्गीत

कालेबुङ, 23 जुन। (प्रदीप)ः-
78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलको दर्शकदीर्घमा केहीबेर थप्पडीको आवाज गुञ्जयमान भएको थियो।
यो उमेरमा पनि आफ्ना प्रशंसकहरूलाई निराश नपार्ने उर्जावान गायिका अरू कोही नभएर सुश्री शान्ति ठटाल थिइन्। कालेबुङका कलाकर्मीहरूको समूह फ्रेण्ड्स् फर सोसियल कन्सर्नले नेपालको भुइँचालो पिडीतहरूको निम्ति अर्थसहयोग जुटाउन आयोजना गरेको सांगीतिक कार्यक्रम ‘मेलोडी फर रिमेडी’-मा गीत प्रस्तुत गर्न शनिबार साँझ नै दार्जीलिङबाट आइपुगेकी थिइन्। उनी दशकौंपछि कालेबुङमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी बनेकी थिइन्। आफ्ना जमानाकी एक लोकप्रिय गायिकालाई यतिका बर्षपछि सुन्न र हेर्न टाउनहलमा धेरै संख्यामा पाका मानिसहरूको उपस्थिति थियो तर उनका कालजयी गीतहरूले युवा पुस्ताका दर्शक-श्रोताहरू पनि मञ्त्रमुग्ध नभइ रहन सकेनन्। सुश्री ठटालले यस दिन सम्हालेर राख, आँधीहुरीले, मायाले सम्झ्यो कि कसोलगायतका गीतहरू गाएर आफ्ना प्रशंसकहरूलाई मुग्ध पारेकी थिइन्। उनलाई आयोजन समितिले प्रशस्तिपत्र प्रदान गरी अभिनन्दन पनि जनाएको थियो। नेपालका भुइँचालोपिडीतहरूको निम्ति कालेबुङका कलाकर्मीहरूको तर्फबाट पनि सहयोग गर्न यो कार्यक्रमको आयोजना गरिएको थियो। साहित्य, संगीत, पत्रकारिता, नाटक र सिनेमा क्षेत्रसँग जोडिएका मानिसहरूको तत्परतामा आयोजित कार्यक्रमको मूल उद्देश्य नेपालका भुइँचालो पिडीतहरूलाई सहयोग गर्ने रहेको भए पनि यसले अरू उद्देश्यहरूको पनि परिपूर्ति गरेको थियो। कार्यक्रममा सुश्री शान्ति ठटाललगायत डूवर्सको बाणी व्याण्ड अनि गायक पुष्पण प्रधान, काठमाण्डौबाट गायिका झुमा लिम्बु पनि कलाकर्मीहरूको यो सदिच्छालाई सहयोग पुर्‍याउन सहभागी थिए।
दुवै गायिकाहरूलाई दार्जीलिङका संगीतकार जीवनप्रकाश प्रधानको टोलीले साथ दिएका थिए। आयोजक कलाकर्मीहरूको उद्देश्य भुइँचालोपिडीतहरूको सहयोगसितै दुइपुस्ताका गायक-गायिका अनि गीतसंगीतकारहरूबीच सहकार्य, भारत-नेपालबीच संगीतिक विनियमलगायत बाणी व्याण्डका प्रतिभाशाली गायक पुष्पण प्रधान विशिष्ट गीतसंगीतको रस कालेबुङे संगीतप्रेमीहरूलाई आस्वादन गराउनु पनि थियो। संगीतकार अम्बर गुरूङको छत्रछायाँमा रहेर नेपाली संगीतजगतमा ख्याति कमाइरहेकी झुमा लिम्बुले पनि अर्थपोर्ण गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई आनन्दित तुल्याएकी थिइन। पहिलोपल्ट भारतेली नेपाली संगीतश्रोताहरूलाई आफ्नो गीत सुनाइरहेकी झुमालाई पनि आयोजकहरूले कदरपत्र प्रदान गरि सम्मान जनाएका थिए। यस अवसरमा डूवर्सको बाणी व्याण्ड अनि यसका गायक पुष्पण प्रधानको प्रस्तुति बेजोड थियो।
आफ्ना अनि अरूका गरी उनले झण्डै एक दर्जन गीत गाएका थिए। फत्तेमान राजभण्डारीको मर्न बरू गारो हुन्नबाट शुरु गरेर मनोज बोगटीको शब्द र आफ्नै संगीत रहेको ‘ए बूढा बा! यो त मेरो समय हो’ भन्ने अन्तिम गीत गाएर लगभग दुइ घण्टासम्म श्रोताहरूलाई बाँधेर राख्न उनी सफल भएका थिए। दर्शकश्रोताहरूसँग सम्वाद गर्दै गीत प्रस्तुत गर्ने शैलीले पनि उनलाई यस दिन धेरै रूचाइएको थियो। नेपालीसंगीतमा सुफीसंगीतको स्वाद दिने उनको गीत र गायिकीप्रति विशेष गरी युवापुस्ताका श्रोताहरू मोहित भएका थिए। पुष्पणको बेजोड प्रस्तुतिले मुध भएका संगीतकार जीवनप्रकाश प्रधानले कार्यक्रमबीच नै आफ्नो रेकर्डिङ स्टुडियो रिदमको तर्फबाट बाणी व्याण्डको एउटा एल्बम निकाल्ने घोषणा पनि गरेका थिए। यो कार्यक्रमको अर्को विशेष आकर्षण थियो नाटक भानु र पाला। यही नाटकको भाग एक र दुइले चर्चा र लोकप्रियता कमाएका कलाकार ललित गोलेले आफ्नै निर्देशनाअ तयार पारेको भानु र पाला नाटकले दर्शकहरूलाई प्रहसन मात्र प्रदान गरेको थियो तर हालमा सामाजिक अनि राजनैतिक विसंगतिहरूप्रति कलात्मक प्रहार पनि गरेको थियो। उनले यस दिन अगावै प्रदर्शन भइसकेको भानु र पालाको भाग एक अनि दुइसहित तयारीमा रहेको भाग तीनका केही अंशहरूको सम्मिश्रण प्रस्तुत गरेका थिए। गोलेलाई यो नाटकमा महेन्द्र बागदास, मदन भुजेल, बिक्रम पराजुली आदि कलाकारहरूले साथ दिएका थिए।
यो कार्यक्रममा कालेबुङका युवाव्यवसायी सोनाम याक्खा प्रमुख अतिथि थिए भने युवाकवि गगण राई बिशेष अतिह्ति थिए। दुवै अतिथिहरूको बाहुलीबाट कलाकारहरू शान्ति ठटाल, झुमा लिम्बु अनि पुष्पण प्रदानलाई अंगवस्त्र ओडाएर अभिनन्दन गर्ने कार्य गरिएको थियो। दुवैले भुइँचालो पिडीतहरूको सहयोगको निम्ति व्यक्तिगत तर्फबाट राम्रो रकम पनि प्रदान गरेका थिए।

Related Posts:

  • Cop son killed in Gangtok brawlGangtok, May 19: A Bihar police officer’s son, studying engineering in Sikkim, died last night after he was allegedly beaten up outside a Gangtok pub, a follow-up to a brawl inside it. Police have arrested five Gangtok youth… Read More
  • छापामा आएको खबर असत्य-हिल तृणमूलकालेबुङ, १७ मई| बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्न नपाउँदा हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू निराश बनेका छन् भनेर कतिपय मिडियाले गलत प्रचार गरेको आरोप हिल तृणमूल महिला सङ्गठनका प्रमुख ननिता गौतमले लगाएकी छन्| आज … Read More
  • Career fairSiliguri, May 17: Several universities ad colleges from across the country will set up stalls at career fairs that will be organised in Gangtok, Darjeeling and Siliguri by SAPE Events and Media Private Limited in association … Read More
  • महिला हिंसाविरुद्ध र्‍याली र सङ्गोष्ठीकालेबुङ, 18 मई। अल इण्डिया वुमेन्स कनफेरेन्सको कालेबुङ शाखाले आज महिला हिंसाविरुद्ध विद्यमान कानूनी प्रावधानहरुबारे जानकारी प्रदान गर्न एक सङ्गोष्ठी साथै शहरमा एउटा सचेतना र्‍यालीको आयोजना गरेको थियो। विभिन्न शैक्षिक संस्थानक… Read More
  • ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति म… Read More

0 comments: