Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Aug 2013

फेरि असफलताको दिशातिर नै साझा-मञ्चको अवधारणा


छेवाङ योञ्जन, 

साझा सङ्घर्षबिना कुनैपनि अवस्थामा हामीले छुट्टै राज्य प्राप्त गर्न सक्दैनौ। छुट्टै राज्य गोर्खाल्याण्ड पहाडवासीको दिर्घकालिन माग हो। तर, छुट्टै राज्य माग्ने पहाडका दलहरुबिच नै एकता नआएको कारण आजसम्म पनि यो मुद्धा टुङ्गोमा पुग्नसकिरहेको छैन।  पहाडका सबैदलहरु एउटै मञ्चमा आएर दृढ़ सङ्कल्प अनि इमान्दारीपूर्वक छुट्टै राज्यको मागलाई अघि बढ़ाए अवश्यै पनि यस मुद्धाले पार पाउनसक्ने कुरा निश्चित छ।
 राजनीतिक दलहरुको विचारमा पनि साझा मञ्च आन्दोलन गर्ने एउटा प्रभावशाली स्थान हो भन्ने अवधारणा रहेको नै छ। यसैले समय समयमा यहाँका विभिन्न दलहरुले सामूहिक नेतृत्वको कुरा उठाउँदै आइरहेका छन। तर सबै दलहरुलाई एउटै मञ्चमा ल्याएर, छुट्टै राज्यको निम्ति प्रभावशाली कार्यक्रमहरु गर्ने सोचहरु आजसम्म पनि केवल पत्र-पत्रिका अनि राजनीतिक दलहरुले लिएका प्रस्तावहरुमा मात्र सिमित रहेको छ। साझा मञ्चको अवधारणा आन्दोलनको निम्ति एकदमै प्रभावशाली सोच हो, साथै साझा मञ्च अनि सामुहिक नेतृत्वले एकता नै बलवान भन्ने सङ्खेत दिन्छ भने छुट्टै राज्य प्राप्तीको आन्दोलनमा यो साझा मञ्चले आवश्य नै अहम् भूमिका निभाउने छ। पहाडका दलहरुले साझा मञ्चको अवश्यकतावोध भने नगरेका होइनन्, तर नेतृत्वगणको आपसी मत-भेत, ईर्ष्या र अहम् अनि पदको लोभले गर्दा साझा मञ्चको अवधारणा आजसम्म पनि कार्यरुपमा उत्रिन सकिरहेको छैन।
पहाडका सत्तासीन दल गोर्खा जनमुक्ति मोर्चालगायत अन्य दलहरु क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, अखिल भारतीय गोर्खा लीग, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, अनि अरानैतिक संस्था भारतीय गोर्खा परिसंघले धेरै चोटी साझा मञ्च अनि सामूहिक नेतृत्वको कुरा भने नउठाएको होइन तर यी दलहरुले उठाएको साझा मञ्चको अवधारणा आजसम्म पनि पत्रिकाको फ्रण्ट पेजमा मात्र सिमित रहेको छ। अर्कोतिर, साझा संघर्ष अनि सामूहिक नेतृत्वले नै छुट्टै राज्य प्राप्त गर्न सकिन्छ भन्ने इतिहास हालैमा तेलङ्गनाले रचेको छ। विभिन्न प्रकारको रणनीति भएका दलहरु, विभिन्न विचार लिएका नेतृत्वहरु एउटै मञ्चमा उत्रेर छुट्टै तेलङ्गना राज्यको मागमा दीर्घकालिन संघर्ष गरे। फलस्वरुप आज तेलङ्गनाले एउटा सिङ्गो राज्यको दर्जा पाउने कुरा निश्चित भएको छ। तर, यता तेलङ्गना संगै छुट्टै राज्य गोर्खाल्याण्ड पनि गठन हुनुपर्छ भन्ने दार्जीलिङ पहाडका दलहरुबिच भने आजसम्म पनि एकता आउन सकिरहेको छैन। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्ने राजनीतिक दलहरु थुप्रै छन् पहाडमा, यसै मुद्धालाई समर्थन गर्ने सामाजिक संघ-संस्थाहरुको पनि कमी छैन पहाडमा तर एउटै मुद्धा बोकेका राजनीतिक दल अनि सामाजिक संघ-संस्थाहरुमा भने मत-भिन्नता रहेको छ। मुद्धा एउटै भएर पनि पहाडका दलहरुमा भने किन अनेकता ? नाराबाजी र धरणा प्रदर्शनहरुमा सबै दलहरुले एउटै नारा लगाउँछन् जय गोर्खा जय गोर्खाल्याण्डतर पनि एउटै मञ्चमा आएर छुट्टै राज्यको निम्ति सामूहिक कार्यक्रमहरु कहिले गरेनन् हाम्रा राजनीतिक दलहरुले। जसले गर्दा आजसम्म पनि गोर्खाहरुको छुट्टै राज्यको सपना साकार हुन सकेको छैन। एकतामा आउनको सट्टा हाम्रा दलहरुको आफसी मत-भेतले आजसम्म पनि दिल्ली र कलकता लगायत सम्पूर्ण देशलाई नै हँसाइरहेका छन्।
हाल तेलङ्गाना राज्य निर्माण प्रक्रियाले गर्दा छुट्टै राज्यको माग गरिरहेका देशको विभिन्न प्रान्तहरुनै आन्दोलित भिरहेका छन्। राजनीतिक दलहरु बिच मत-भिन्नता देखा परेता पनि तेलङ्गना राज्य निर्माण प्रक्रियाको हावाले दार्जीलिङ पहाडको राजनीतिक माहौललाई अवश्यै छोएको छ। छुट्टै राज्यको मागमा पहाडमा बन्द अनि छिटपुट घटनाहरु पनि घटीरहेको छ। तेलङ्गानाको रापले पहाडमा साझा मञ्च निर्माण हुन सकने एउटा माहौल अवश्यनै तयार भएको थियो। तर एकजुट भएर आन्दोलन गर्नको सट्टा यहाँका दलहरुमा साझा मञ्च निर्माणको अवधारणा लिएर मत-भिन्नताहरु सृष्टि भिरहेको छ। कंग्रेस कार्यकारी समितिले तेलङ्गना राज्य निर्माण प्रक्रिया प्रति हरियो झण्डा देखाउन साथ छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दार्जीलिङ आन्दोलित भएको हो। मोर्चाले तुरन्तै 72 घण्टा पहाडबन्दको घोषणा गर्यो अनि यसै बिच जोइण्ट एक्शन कमिटी गठन गरि अब छुट्टै राज्यको आन्दोलनलाई तीब्रता दिनु पर्छ भन्ने बिचार गोर्खाल्याण्ड टाक्स फोर्सका राष्ट्रीय संयोजक आर. मोक्तानले एउटा पत्रकारसम्मेलन मार्फत प्रकाश पारे। आर. मोक्तानको साझा मञ्च निर्माण गर्ने सोच यो आवस्थामा अत्यनतै आवश्यक हो। अब एउटै मञ्चमा आएर सामूहिकरुपले आन्दोलनलाई गति दिनुपर्ने तिनको भनाइ थियो। पत्रिकामा तिनको विचार प्रकाशित हुन साथै सामूहिक आन्दोलनको परिकल्पना प्रतेक पहाडवासीले गर्न थाले। परिस्थिति अनुसार सामूहिक आन्दोलनको आवश्यक्त पनि थियो। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले पनि गोर्खाल्याण्ड टाक्स फोर्सका राष्ट्रीय संयोजक आर. मोक्तानको विचारको मिडिया मार्फत नै दुइ चोटी स्वागत जनाए। सामूहिकरुपमा आन्दोलन गरे प्रभावशाली हुने छ तिनले प्रेसमा पनि भनेका थिए। पक्कै पनि सामूहिक आन्दोलन प्रभावशाली हुने छ। प्रभावशाली मात्र होइन सबैदलहरु सडकमा उत्रेर छुट्टै राज्यको माग गरे तलङ्गना संगै सरकारले गोर्खाल्याण्ड प्रति पनि कुनै नकुनै कदम त चाल्ने चै थियो। तर 1 अगष्टको दिन गोर्खाल्याण्ड टाक्स फोर्सले एउटा बैठकमा लिएको प्रस्तावले भने साझा मञ्चको अवधारणालाई  फेरि असफलताको दिशातिर नै पुर्याई दिएको छ। गोर्खाल्याण्ड टाक्स फोर्स(गोटाफो)ले लिएको प्रस्ताव भन्नाले यस अधीनस्थ रहेको दलहरु क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट  पार्टी, अखिल भारतीय गोर्खा लीग अनि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले ग्रहण गरेको प्रस्ताव हो। गोटाफोले जीटीए भङ्ग गरे मात्र छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सामूहिक आन्दोलन गर्न सकिने प्रस्ताव लिएको छ। आज भन्दा धेरअघि मोर्चा अध्यक्षले अल पार्टी च्यापटर क्लोज भन्दै सामूहिक नेतृत्वको अवधारणामा विराम लगाएका थिए भने आजको परिस्थितिमा गोटाफोको उक्त निर्णयले सामूहिक मञ्चको निर्माण प्रक्रियालाई जटिलरुप दिएको छ। किन भने मोर्चा हाल कुनै पनि अवस्थामा जीटीए त्यागने मूडमा छैन। व्यवस्थामा बसेर छुट्टै राज्यको आन्दोलन गर्नु हाल मोर्चालाई पनि असुविधा भई नै रहेको छ। पटक-पटक जीटीए काम नलाग्ने भइसकेको छ भन्दै मोर्चाले सरकारको घाटी न्याँक्ने काम गरेता पनि जीटीए त्यागिहाल्ने दिशामा भने मोर्चाले चासो देखाई रहेको छैन। कारण मोर्चाले जीटीए त्यागे तापनि समझौतामा उल्लेखित जीटीएको मियादअनुरुप जीटीएको अस्तिस्व पहाडमा रहि नै रहन्छ। अनि राज्य सरकारले विगतमा केयर टेकर राखेर दार्जीलिङ गोर्खा पार्वतीय परिषद(दोगोपाप) चलाए झै मियाद पुरा नभइञ्जेलसम्म जीटीएलाई पनि चलाउने छ। मोर्चाको सम्पूर्ण सभासदहरुले जीटीएको पदबाटा राजिनामा दिए अवश्यै पनि जीटीए पूर्णरुपले राज्य सरकारको अधिनमा जाने छ। र, त्यस बेला जीटीए मोर्चा अनुसार होइन राज्य सरकारको निर्देशबमोजिम परिचालन हुने छ, जसमा पहाडका तृणमूल नेतृत्वहरु अनि कार्यकर्ताहरुको हुकुमत जम्ने छ। पहाडका तृणमूल कार्यकर्ता अनि मोर्चा भन्नु नै एकदमै विपरीत ध्रुव हो। मोर्चा अध्यक्ष विमल गुरुङले अवश्य नै तृणमूल नेता प्रविण रहपालले जीटीएको कामकाज सम्हालेको हेर्नसक्ने छैनन्। अनि यस्तो परिस्थितिमा कसरी मोर्चाले जीटीए त्यागने यो एउटा जटिल प्रशन हो गोटाफोको लागी, जसले जीटीए त्यागे सामूहिक आन्दोलन गर्ने प्रतिश्रुति दिएको छ। अर्कोतिर, मोर्चालाई जीटीए त्यागन वाध्य बनाउन गोटाफोको हातमा खासै कार्यक्रमहरु पनि छैन। केवल पत्रकारसम्मेलन मार्फत नै गोटाफोले मोर्चाले जीटीए त्यागनु पर्ने कुराहरु गरिरहेको छ। यसैले तेलङ्गना राज्य निर्माण प्रक्रियाले दार्जीलिङ पहाडमा आन्दोलनको माहौल निर्माण भएता पनि यहाँका राजनीतिक दल अनि प्रतिनिधिहरुले भने यसदिशामा खासै चासो देखाएको छैन। पहाडमा हाल आन्दोलनको चरम अवस्था हुनुपर्ने हो तर यहाँ राजिनामा राज्यपाललाई होइन पुर्व-राष्ट्रपतीलाई गएकोमा ठट्टा भइरहेको छ। आन्दोलनकारी नेताहरुको खिल्ली उडिरहेको छ। यी सम्पूर्ण घटनाहरुलाई हेर्दा कि त हाम्रा प्रतिनिधिहरुमा छुट्टै राज्यको मुद्धा प्रति गम्भीरता छैन नभए जनतालाई सडकमा उतारेर सरकार संग मिलेर नाटक गरिरहेका छन् । निश्चित छ यसचोटी पनि साझा मञ्चको अवधारणा केवल अवधारणा मात्रै भएको छ। एकल नेतृत्वलेनै छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउने छ भन्ने धारणा हामीले नराख्दा पनि हुन्छ। कारण विगतमा पनि एकल नेतृत्वको परिणाम हामीले देखेकै हौ। मोर्चा बाहेक पहाडका अन्यदलहरुबाटा पनि हामीले भनेजस्तो आशा राख्नसकिन्न। निश्चित रुपले तेलङ्गना राज्य बनिने छ। बधाई छ तेलङ्गनाका जनतालाई जसले दल अनि नेतृत्व चिने। सामूहिकरुपमा दिर्घकालीन संघर्षमा लागिपरे अनि आज छुट्टै राज्य निर्माणको प्रक्रियामा रमाइरहेका छन्। सामूहिक नेतृत्वको कारण आज देशमा तेलङ्गना राज्य निर्माण हुन लाग्यो, तर अनेकताको कारण यसै देशमा गोर्खाजाति मासिँजै गयो, मत-भेतको कारण दिग्गज नेताहरु मारिँदैगए, राजनीतिक साथ-साथै सामाजिक धरातल खस्किँदैगए। तरैपनि जनतालाई सडकमा उतारेर नाटक गर्ने हाम्रा प्रतिनिधिहरुको व्यवहार कहिले गएन। जब हाम्रा प्रतिनिधिहरु राजनीति त्यागेर एउटै माञ्चमा केवल आन्दोलनको निम्ति मात्र उत्रिन्छ तब मात्र हामीले छुट्टै राज्यको कल्पना गर्नसक्छौ। अहिले हाम्रा प्रतिनिधिहरुले आन्दोलनको नाममा खुलेआम राजनीति गरिरहेका छन्। राजनीतिलाई भुलेर आन्दोलनमा उत्रिनु भनेको नै एउटै मञ्चमा आएर मुखर बनेर छुट्टै राज्य गोर्खाल्याण्डको आवज उठाउनु हो। आखिर मुद्धा एउटै हो, माग एउटै हो, आन्दोलन गर्ने धरातल पनि एउटै हो तर किन मत-भेत ।
तेलेङ्गनावासी छुट्टै राज्य प्राप्तिको निम्ति सरकारबिरुद्ध लडे। छुट्टै राज्य गोर्खाल्याण्ड चाहनेहरु आफ्नै बिरुद्ध लडे। फरक यति भयो उनीहरुले राज्य पाए हामी अझै कराउँदैछौँ। जिम्मेवारी नेताको मात्र होईन जनताको पनि हो। नेताहरुलाई मात्र दोष देखाउँने जनताहरु उत्तिकै दोषी छन। हाम्रो आन्दोलनलाई नेतृत्व गर्ने नेतृत्वहरुलाई आख़ाँ चिम्लेर विश्वास गर्ने जनता के तिम्रो दोष छैन ? यदि नेतृत्वले धोका दिदै गएको थाह छ भने जनताले नेतृत्व परिवर्तन गर्नु पर्ने होईन र ? प्रजातन्त्रमा जनता नै राजा तर हाम्रो त खै ? गोर्खाल्याण्डको नाउँमा दार्जीलिङे जनताको अमूल्य भोट पाएर गएका हेभिवेट नेता आज तेलेंगना गठन हुँदा किन मौन ? अब जनताले सांसद जसवन्त सिंहलाई यसवर्षको संसदमा गोर्खाल्याण्डको निजी बिल पेश गर्ने दबाव बनाउँनुपर्छ। होईन भने राजीनामा दिन लगाउँ। भोटमा जितेर जाने नेता चाहिएन हामीलाई । आऊ मेरा प्रिय गोर्खे दाजु भाई अनि दिदी बहिनी अब एउटा मुहिम चलाऊ .... छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाल्याण्ड माग्ने सबै राजनैतिक पार्टीका नेताहरुलाई एउटा मञ्चमा ल्याउँ ... एउटा मञ्चमा ल्याउँने काम केवल जनताले मात्र गर्न सक्छ। नेताहरु आफ्नो नाकमा झिंगा बसेको रुचाउँदैनन... त्यसर्थ प्रत्येक पार्टीका कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई राजनैतिक र्ंग भुलेर मुद्दाको निम्ति एउटा मञ्चमा ल्याउँने पहल गरौ। उठौँ ... जागौँ ... अघि बडौँ !!! जय गोर्खा !!!

0 comments: