Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

2 Nov 2011

भुल्याइँदै छ बिजनबारी काण्ड


मनोज वोगटी
कालेबुङ, 2 नोभेम्बर।
आविप र मोर्चाबीचको पैसा र दलीय स्वार्थको राजनीतिले बिजनबारी घटनालाई भुल्याइने कार्य भइरहेको पर्यवेक्षकहरूको भनाइ रहेको छ। जनताको मुद्दामा होइन अहिले आविप र मोर्चा दलको फाइदा र स्वार्थको मुद्दा उठाएर बिजनबारी काण्डलाई बिर्साइदिने धुनमा लागेको उनीहरूको भनाई रहेको छ।
उनीहरू अनुसार मोर्चा र आविपबीचको सम्झौता पैसा र चौकीको हो। यसमा जनताको आकांक्षाको कुरा छैन। जनताको आकांक्षा भनेको छुट्टैराज्य हो, तर यही मुद्दालाई धितो राखेर पैसा र चौकीको निम्ति राजनीति गर्ने कार्य भइरहेको छ। बिजनबारीको पुल काण्ड हुनुको प्रमुख कारण भनेको नै त्यहॉं भइरहेको मेला र गोर्खा जनमुक्ति मोर्चाद्वारा गरिएको सांस्कृतिक कार्यक्रम रहेको थियो। मेला र सांस्कृतिक कार्यक्रम नगरेको भए घटना हुने थिएन भन्ने विपक्षको भनाई छ। उनीहरू अनुसार मोर्चाले अनावश्यक कार्यक्रम गर्ने बिडों नै उठाएको छ। डुवर्स पस्ने अनावश्यक कार्यक्रम नगरेको भए सिब्सुमा गोर्खाहरू मर्ने थिएनन्‌। यस्तै बिजनबारीमा सांस्कृतिक कार्यक्रम नगरेको भए 40 भन्दा धेर मृत्युको मुखमा पर्ने थिएनन्‌। यत्रा मानिसहरूको मृत्यु भयो तर घटनाको छानबिन भने भएको छैन। घटनामाथि छानबिन नहुनुमा राजनैतिक स्वार्थ लुकेको पनि स्पष्ट छ। गोर्खा जनमुक्ति मोर्चाले गरेको सांस्कृतिक कार्यक्रममा अनुमति बिना जडान गरेको बिजुलीको तार पुलसित नै चुडिँदा मानिसहरूको मृत्यु भएको कुरा अघि आइरहेको छ। पीडितहरूले मुख नखोले पनि बिजनबारीका मानिसहरूले यो कुरालाई मनमा खिलेर राखेको थाहा लागेको छ। राजनैतिक संत्रास र दादागिरीको कारण अहिले जनताले मुख नखोले पनि यो घटनाको रहस्यको पर्दा विस्तारै खोलिने धेरैले अनुमान गरेेका छन्‌।
मुख्य मन्त्री बिजनबारी नपुग्नु अनि दार्जीलिङबाट नै क्षतिपूर्तीको घोषणा गर्नु मात्र होइन, मोर्चाले आफै सरकारीतन्त्रको भूलको कारण घटना भएको आरोप लगाए पनि त्यो सरकारीतन्त्रको विरोधमा कुनै आवाज नउठाउनुभित्र नै रहस्यको गॉंठो रहेको अनुमान गरिएको छ। मोर्चा र सरकार दुवै घटनाका जिम्मेवारी भएकोले मोर्चा र सरकार नै चुपचाप बसेको पनि अनुमान लगाइने काम भइरहेको छ। विपक्षले मोर्चालाई नै घटनाको जिम्मेवार बताइरहेको छ भने मोर्चाले भने सरकारलाई दोष लगाइरहेको छ। विपक्षको भनाई छ, अवैद्धरुपले विजुलीको जडान गर्ने, अनुमतिबिना कार्यक्रम गर्नेहरूलाई दण्ड हुनुपर्छ किन भने घटनाको दायी उनीहरू हुन्‌। विपक्षको यो लक्ष्य मोर्चा नै हो किन भने कार्यक्रम मोर्चाले नै गरेको हो।
 मोर्चा चेपारोमा परेको कुरा ममता व्यानर्जीलाई थाहा छ, यसैकारण मोर्चालाई बँचाउन नै ममता व्यानर्जीले घटनामाथि न्यायिक जॉंच नगराएको पनि विपक्षको आरोप छ। जब यो आरोप चरममा पुग्दै गयो सोही मौकामा मोर्चा र आविपबीच विकास, पैसा र चौेकीको कुरामा सहमति गरेर जुन तमासा लगाइरहेको छ, त्यो केवल बिजनबारीको मुद्दालाई ढाकछोप गर्ने षडयन्त्र रहेको कुरा अहिले व्यापकरूपमा चलिरहेको छ। आविपलाई मोर्चाले यस कुरामा सहयोग मागिसकेको छ अनि ममता व्यानर्जीले मोर्चा र आविपलाई यसबारेमा सहयोग गरिरहेको छ भन्ने कुरा पनि भित्रभित्र नै चलिरहेको छ। केही दिनपछि दलीय विवादको कारण देखाएर सम्झौता फिर्ता लिने अनि त्यसबेलासम्म बिजनबारी काण्डलाई पूर्णरुपमा सेलाउने षडयन्त्र चलिरहेको  शंका गरिन थालिएको छ।

0 comments: