Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Nov 2011

सर्जकहरू पीडामा


कालेबुङ, 5 नोभेम्बर।
उन्मुक्त विचारहरूको बौद्धिक उठान। बसिबिँयालोको मूल मन्त्र रहेको थियो। वर्तमान राजनैतिक परिस्थितले सर्जकहरूमा जुन मौनता छाएको छ,त्यसलाई तोड्‌न पनि बसिबिँयालोको लक्ष्य रहेको संकेत बसिबिँयालोको आचार संहिता अनि कार्यक्रम भवनको भित्तैभरि टॉंसिएका विचारहरूले स्पष्ट पारिरहेको थियो। बसिबिँयालोले भारतीय नेपाली समाजले अब उच्च विचारहरूको निर्माण गर्नुपर्ने आह्वान गरिरहेको थियो भने अनेकौंवर्ग र क्षेत्रबाट हुने शोषण र थिचोमिचोको बिरुद्धमा अब सर्जकहरूले मौनता तोड्‌नपर्छ भन्ने संकेत पनि दिइरहेको थियो। बसिँबियॉंलोका संस्थापक सदस्य सी.के.श्रेष्ठले भनिरहेका थिए, बसिबिँयालोको अर्थ बोल्नु पाउनुपर्छ भन्ने हो। अब सर्जकहरू बोल्न त  पर्छ नै तर बौद्धिकरुपमा। तिनले बसिबिँयालोलाई उन्मुक्त विचारको बौद्धिक उठानकोरुपमा व्याख्या गरिरहेका थिए। तिनले भनेजस्तै उमुक्तताको आवाज सम्प्रेषण गर्न बोलाइएको थियो भारतीय नेपाली कविताको क्षेत्रमा माइलखुट्टी बनिसकेका दुइसर्जक मोहन ठकुरी अनि राजेन्द्र भण्डारीलाई। दुवै सर्जकले उन्मुक्तरुपले बोल्न त बोले तर उनीहरूको कविताले अहिलेसम्मको क्षेत्रीय परिस्थितिले जन्माएको पीडालाई नै उचालेका थिए।
 फेरि दार्जीलिङ शीर्षकको कविता बोकेर मञ्च चढेका कवि मोहन ठकुरी भनिरहेका थिए, बिसञ्चो भएको धेरै भयो/ कुशलता सोध्ने आफन्तहरू पनि छैनन्‌/ अदृस्य चोटहरू दुखेको छु म,अपमानका अगणित निलडामहरू  सहेको छु/ अनेकपल्ट मर्दै बॉंचेको छु म। तिनको कवितामा भारतीय नेपालीहरूले उठाएको साझा मुद्दाको गन्ध आइरहेको थियो। परिस्थिति जे जस्तै भए पनि तिनले कामना गर्न छोडेनन्‌। भने, मेरा प्रियहरूको बाहुबलले रक्षित हुनसकूँ म/पाखा पखेरा चॉंप गुरॉंसले हास्न सकू म। यता राजेन्द्र भण्डारी पनि कालेबुङ-2011 बोकेर मञ्च चढे अनि भने, रातपरेपछि कालेबुङलाई 27  जुलाई कोक्याइरहन्छ। तिनले कालेबुङको नाम गरेर सम्पूर्ण धारतीय गोर्खाहरूको दुर्भाग्यलाई पनि कवितामा भने, 15 अगस्तमा मेलाटारमा स्वतन्त्रताको नाच हेर्दाहेर्दै/ दिदीको औंला समातेको भाइ हराइपठाउँछ। उन्मुक्तिको निम्ति जनताले पुर्‍याएको योगदान जहिल्यै पनि खेरो जाने कुरा पनि तिनी गरिरहेका थिए, धेरै युधिष्ठिरहरूका निम्ति स्वर्गको सिँढी बनिदिएर/ आफू सधैँ अँध्यारोमा बस्छ कालेबुङ। कहिल्यै देशसम्म नपुग्ने उन्मुक्तिको यात्रामाथि विस्मात प्रकट गर्दै तिनी भनिरहेका थिए, यो कस्तो बाटो हो/जो डम्बरचोकमा टुङ्गिन्छ।
 कमसेकम सर्जकहरूले बसिबिँयालोमा यसरी उन्मुक्तरुपले बोलिरहेका थिए। उनीहरू पछि धेरै ठाउँबाट आएका कविहरूले पनि यसरी नै कार्यक्रमभरि कुण्ठा पोखिरहेका थिए।

0 comments: