कालेबुङ 22 अगस्त(प्रदीप)। मोर्चाका शीर्ष नेतृत्व अनि कार्यकर्ताहरूलाई
पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रममा आज दलका सहसचिव अनि सभासद बिनय
तामाङ अनि सभासद् सतीश पोखरेललगायत चारजना कार्यकर्ताहरूलाई पक्राउ गरिएको
छ। कालेबुङ पुलिसले यी दुइ सभासद्लगायत अन्य चारजना कार्यकर्ताहरूलाई
सिक्किमको रुम्तेकबाट पक्राउ गरेको छ। यिनीहरूलाई आज बिहान सखारै कालेबुङ
ल्याइएको थियो। पक्रा परेका अन्य चारजना मध्ये तीनजना रिवाज सुब्बा, ललित
छेत्री अनि सुधीर मंग्राती कालेबुङका हुन् भने पासाङ उर्फ मणि तामाङ सभासद
सतीश पोखरेलका चालक हुन्। केही दिनदेखि भुमिगत रहेका यी दुइ सभासदसहित
तिनका सहयोगीहरूले सिक्किमको रुम्तेकमा लिएर बसेका थिए। गोप्य सुइँकोको
आधारमा कालेबुङ पुलिसले सिक्किम पुलिसको सहयोगमा बुधबार अबेर रातीसम्म
छापामारी अभियान चलाएर यिनीहरूलाई पक्राउ गरेको थियो। यद्यपि, पुलिसले यी
छजना आरोपीहरूलाई रुम्तेकबाट पक्राउ गरिएको कुराको आधिकारिक पुष्टि गरेको
छैन। मोर्चा सहसचिव बिनय तामाङले नै आफूहरूलाई पुलिसले सिक्किमको
रुम्तेकबाट बुधबार अबेर राती नियञ्त्रणमा लिएको खुलाएका छन। तिनीअनुसार
जनमानसको चहलपहल शून्यप्रायः भएको एउटा घरमा आश्रय लिएर बसेका यी छजनालाई
कालेबुङ पुलिसको टोलीले बुधबार अबेर राती सिक्किम पुलिसको सहयोगमा पक्राउ
गरी कालेबुङ लिएर आएको थियो। सिक्किमबाट आज बिहान छः बजीतिर सीआरपीएफको
कडा निगरानीमा यिनीहरूलाई कालेबुङ कोर्ट परिसरमा ल्याइएको थियो। त्यहाँ
निकै बेर राखिएपछि यिनीहरूलाई लगभग साढे आठबजीतिर कालेबुङ थाना लगियो।
त्यहाँ पनि झण्डै दुइ घण्टा राखिएपछि यिनीहरूलाई पुनः कालेबुङ कोर्ट लगिएको
थियो। एसीजेएम कमल सरकार नआइञ्जेलसम्म दुइ जना सभासदहरू बिनय तामाङ अनि
सतीश पोखरेललाई कोर्टको जेनरल रिकर्ड रुममा सौहार्दपूर्ण तरिकाले राखिएको
थियो भने रहल चार कार्यकर्ताहरूलाई हाजतमा हालिएको थियो। दुइ सभासदहरूलाई
यहीनेर खाजाको व्यवस्था पनि गरिएको थियो। दुवैले कोर्टको जेनरल रेकर्ड
रुममा बसेर बिहानको चियानास्ता गरेका थिए। कोर्टको सम्बन्धित विभागले
पुराना अनि धेरैवटा मामिलाहरूको अध्ययन गर्नु परेको कारण यिनीहरूलाई विचारक
कमल सरकारको अघि हाजिर गर्न निकै समय लागेको थियो। लगभग चार घण्टापछि
यिनीहरूलाई अपरान्ह एकबजीतिर एसीजेएमको अघि पेश गरिएको थियो।
आरोपीहरूविरुद्ध पुलिसले दर्ता गरेको मामिलाहरूको गम्भीरतालाई हेरेर विचारक
कमल सरकारले छजनै आरोपीहरूलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश
दिए। यद्यपि, बचाउ पक्षको वकिलले जमानतको निम्ति कोर्टमा अर्जी गरेको थियो
तर गर जमानती धाराहरूमा मामिला दर्ता भएको कारण कोर्टले जमानतको अर्जी
अस्वीकार गरेको थियो। सभासद बिनय तामाङलाई गत फरवरीमा मंत्री गौतम देवलाई
कालेबुङमा कालो झन्डा देखाएको अनि वर्ष 2011-को सिब्सुमा मोर्चाको राजनैतिक
कार्यक्रमको अवधीमा कानून अमान्य गरेको, पुलिस प्रशासनलाई काम गर्न बाधा
दिएको, सरकारी सम्पत्ति नष्ट गरेको जस्ता धाराहरूमा आरोपी बनाइएको छ भने
सभासद सतीश पोखरेल अनि अन्य चार युवकहरूलाई प्राथमिकीमा नाम उल्लेख नभएका
‘अन्य’ आरोपीको रुपमा मुद्दा दर्ता गरिएको छ। मोर्चा सहसचिव बिनय तामाङलाई
कूल चारवटा मामिलाहरूमा आरोपी बनाइएको छ। तिनलाई कालेबुङ थानाको केस संख्या
21/13-मा यसै बर्षको फरवरीमा मंत्री गौतम देबलाई कालो झण्डा देखाएको, केस
संख्या 202/13 अनि 17/13-मा राजमार्ग 31-ए अवरोध गरेको, केस संख्या
नगरकट्टा थानाको केस संख्या 17/11-मा सरकारी समपत्ति नष्ट गरेको अनि
पुलिसलाई काममा बाधा दिएको मामिलामा पक्राउ गरिएको हो। यी चारवटा
मामिलाहरूमा कालेबुङ अनि जलपाईगुडी कोर्टले तिनीविरुद्ध वारण्ट जारी गरेको
थियो। यता, जीटीएको रेलिङ-कैजलेका सभासद सतीश पोखरेललगायत रहल चारलाई पनि
नगरकट्टा थानाको बाहेक अन्य सबै मामिलामा आरोपी बनाइएको छ। यी छ जना
आरोपीहरूविरुद्ध भारतीय दण्ड संहिताको धारा 143/147/148/149/186/283/323/
341/353/427/435/506 अन्तर्गत कालेबुङ पुलिसले मुद्दा दर्ता गरेको थियो।
यसैबीच, नगरकट्टा थानाको मुद्दामा बिनय तामाङलाई केही दिनपछि जलपाईगुडीको
एसीजेएम कोर्टमा प्रस्तुत गर्न लगिन सक्ने सूत्रले बताएको छ। अहिले यी छजनै
आरोपीहरूलाई कालेबुङस्थित कारागारमा राखिएको छ। यता, पक्राउपछि मिडीयासँग
प्रतिक्रिया जाहेर गर्दै मोर्चा नेता बिनय तामाङले मोर्चा नेतृत्वलाई
धमाधम पक्राउ गरे पनि आन्दोलन बिथोल्ने सरकारको चेष्टा कदाचित सफल नहुने
विचार व्यक्त गरेका छन। आफूलगायतका कार्यकर्ताहरूले आज साँझदेखि सरकारको
कथित दमन नीति विरुद्ध भोक हड्ताल शुरु गर्ने तामाङले आज बिहान गरेको घोषणा
अनुरुप कालेबुङ जेलमा अनशन शुरु गरेका छन। तिनीलगायत सतीश पोखरेल, पेमा
तामाङ, बरुण भुजेल, रिवाज सुब्बा, सुधीर मङ्ग्रातीले आमरण अनशनमा भाग लिएका
छन। अहिलेसम्म राज्य प्रशासनले जीटीएका सभासदहरू रमेश लामा,अनित थापा,
प्रणय थापा, योगेन्द्र राई, कल्याण देवान, निमा तामाङ, महेन्द्र प्रधान,
प्रभा छेत्री, बिनय तामाङ अनि सतीश पोखरेल गरी कूल दसजनाको पक्राउ गरी
सकेको छ भने सयौको संख्यामा मोर्चा कार्यकर्ता र समर्थकहरूलाई पनि पक्राउ
गरी, दार्जीलिङ पहाडलगायत सिलगढी र जलपाईगढीका विभिन्न जेलमा राखेका छन।
कालेबुङबाट मात्र अहिलेसम्म दुइ जना सभासद गरी कूल 14 जनालाई पक्राउ गरिएको
छ। मोर्चा उपाध्यक्ष अनि सभासद कल्याण देवान अहिले जलपाईगुडी जेलमा छन भने
सभासद निमा तामाङसहित तिनका छः जना सहयोगीहरूलाई सिलगढी जेलमा राखिएको छ।
यता, जनमुक्ति कर्मचारी संगठनका कालेबुङ महकुमा अध्यक्ष खड्क विक्रम
सुब्बा, महकुमा समिति सदस्य शेखर शर्मा अनि नगरपार्षद बरुण भुजेललाई
कालेबुङ जेलमा राखिएको छ। राज्य सरकारको निर्देशमा जिल्ला पुलिस प्रशासनले
मोर्चा नेतृत्व र कार्यकर्ताहरूको अन्धाधुन्ध धरपकड शुर गरेपछि अहिले अहिले
अधिकांश शीर्ष नेतृत्व भुमिगत बनेका छन भने केही अर्ध भुमिगत अवस्थामा छन।
पुलिसले दिनहुँ तीव्रत्तर पार्दै लगिरहेको धरपकडको अभियान अन्ततः मोर्चा
अध्यक्ष बिमल गुरुङलाई पक्राउ गरेर मात्र समाप्त हुने छाँट देखा परेको छ।
मोर्चा अध्यक्ष अहिले सार्वजनिक रुपले प्रकट भइरहेको भए पनि ढिलो छिटो
तिनलाई पनि पुलिसले आफ्नो नियञ्त्रणमा लिन सक्ने सम्भावना यतिबेला चुलिएको
छ। यसबाहेक गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको तर्फबाट आन्दोलनको
नेतृत्व गरी रहेका केही शीर्ष नेताहरूलाई पनि ‘घरभित्र जनता’ अनि ‘घरबाहिर
जनता’ कार्यक्रमका आह्वाकका रुपमा आरोपी बनाएर पक्राउ गर्ने सोँच बनाइ
रहेको स्रोतको भनाइ छ।
23 Aug 2013
Home »
News
» मोर्चा सहसचिव विनय तामाङ पक्राउ, कालेबुङबाट दुइ जना सभासद गरी कूल 14 जनालाई पक्राउ गरेको रिपोर्ट
मोर्चा सहसचिव विनय तामाङ पक्राउ, कालेबुङबाट दुइ जना सभासद गरी कूल 14 जनालाई पक्राउ गरेको रिपोर्ट
Related Posts:
Fine print shows pittanceAVIJIT SINHA A rally brought out by SFI and DYFI against the railway budget in Si… Read More
Negligence in Model House ConstructionRANGPO-15TH MARCH12Modal house scam is shown in the sakhu khani gram Panchayat unit ward no 2 of west Pandam constituency .from the couple of years the ruling government Sikkim democratic front deciding to make state the… Read More
Track protest on added land The blockade at the New Malbazar station in Jalpaiguri on Thursday. Picture by Biplab Basak… Read More
Hill call for spot study - Morcha: Survey will give panel idea of ground realityVIVEK CHHETRI … Read More
Hill pact wrongly read: Morcha - Hill party to meet CM on March 16VIVEK CHHETRIGiri in Darjeeling on Wednesday. (Suman TamangDarjeeling, March 14: The Gorkha Janmukti Morcha today accused the state government of wrongly “interpreting” the Gorkhaland Territorial Administration agreement, a d… Read More
0 comments:
Post a Comment