Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Oct 2011

सक्षम प्रतिनिधि खोज्दै युवा कंग्रेसको बुथ चुनाउ

कालेबुङ, 17 अक्टोबर।
दललाई सही मानकमा जनतासित सामाञ्जस्य गराउँदै जनमुद्दालाई तृणमूलस्तरबाट नै सम्बोधन गर्न अल इण्डिया युथ कंग्रेसले विकास गरेको नयॉं तक्निकलाई दार्जीलिङ जिल्लामा लागू गर्ने कार्य भइरहेको छ। राहुल गान्धीले राजनैतिक सत्ता र स्वार्थ लोलुपताको कारण अथवा डर्टी पोलिटिक्सबाट पछि बसेका प्रत्येक समाजका सही नेतृत्व दिने युवाहरूलाई अघि ल्याउन नेतृत्व छनौट प्रक्रियाको विकास गरेका हुन्‌।
 दार्जीलिङ जिल्लामा युवा कंग्रेसलाई सही नेतृत्व दिने, जनताको आवाज बोक्न सक्ने शिक्षित र सचेत युवा खोज्दै विधानसभा क्षेत्रमा बुथ समितिको चुनाउको प्रक्रिया शुरू गरिएको छ।
आज जिल्लाभरि नै  बुथ समितिको निम्ति उम्मेद्वारिता गर्न जिल्लाका युवावर्गले नामाङ्‌कन पत्र भरे। कालेबुङ विधानसभा क्षेत्रको मोठ 210 बुथको निम्ति नामाङ्‌कन पत्र भर्ने युवाहरूले कंग्रेसको महकुमा कार्यालयमा भीड जमाएको थियो।  'मोठ 630 आसनको निम्ति युवाहरूले नामाङ्‌कनपत्र भर्ने छन्‌' -जिल्ला कंग्रेसका सचिव दिलिप प्रधानले भने। तिनी अनुसार एक बुथ समितिमा अध्यक्ष, सचिव अनि सहसचिव गरी तीन आसन रहनेछन्‌। चुनाउ प्रकियालाई जनवरी महिनादेखि नै शुरू गरिएको हो। आज दोस्रो चरणमा युवाहरूले नामाङ्‌कन पत्र भरेका हुन्‌।'22 जनवरीको दिन कालेबुङका 30 युवाहरूले नामाङ्‌कन बुझाएका थिए। आज लगभग सय भन्दा धेरले नामाङ्‌कन बुझाइसकेका छन्‌। बेलुकीसम्म धेरैले बुझाउने आशा गरिएको छ' प्रधानले थपे।
कालेबुङका तीनवटै खण्डबाट नामाङ्‌कन बुझाउन कंग्रेस कार्यालय धाएको देखियो। दिलिप प्रधान अनुसार सर्वभारतीय युवा कंग्रेसले पठाएका एसिस्टेन्ट रिटर्निङ अफिसरहरू इन्द्रजित, सौरभसिंह अनि अविनाशको देखरेखमा नै गणतान्त्रिक पद्धतिमा नामाङ्‌कन पत्र भरिएको छ।
'18 अक्टोबरको दिन नामाङ्‌कनमाथि पुनर्जॉंच हुनेछ अनि 22 अक्टोबरको दिन चुनाउ हुनेछ' -प्रधानले भने। तिनी अनुसार विधानसभा क्षेत्रको चुनाउपछि तीन खण्डका विजयी उम्मेद्वारहरूबाट नै महकुमा समितिका पदाधिकारीहरको चुनाउ गरिने छ। त्यसपछि प्रत्येक महकुमा समितिका पदाधिकारीहरूबीच नै जिल्ला समितिका पदाधिकारीहरूको चुनाउ हुनेछ। ' म युवा कंग्रेसका अध्यक्ष थिएँ। अहिले मलाई जिल्ला युवा कंग्रेसको अध्यक्षबाट पदोन्नति गरेर जिल्ला कंग्रेसको सचिवकोरूपमा नियुक्त गरिएको छ। यसै खालीपद्‌को निम्ति यो चुनाउ भइरहेको छ' -प्रधानले स्पष्ट पारे। तिनले युवाहरूको सक्रियता युवा कंग्रेसमा धेरै रहेको बताइरहेको भए पनि 630 आसनको निम्ति कूल 130 युवाहरूले मात्र नामाङ्‌कनपत्र भरेको देखिएको छ।


0 comments: